‘चिसो मान्छे’ असार ३ मा रिलिज, स्वस्तिमाको फरक लुक्स

‘चिसो मान्छे’ असार ३ मा रिलिज, स्वस्तिमाको फरक लुक्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र कुमार खनाल निर्देशित सिनेमा ‘चिसो मान्छे’को रिलिज बैशाख ३० गतेबाट पोस्टपोन्ड गरिएको छ । सरकारले बैशाख ३० गते स्थानिय तहको निवार्चन तोकेपछि सिनेमाको रिलिज सारिएको निर्देशक खनालले बताए । अब ‘चिसो मान्छे’ आउँदो असार ३ गतेबाट प्रदर्शन हुनेछ ।

सिनेमाको नयाँ प्रदर्शन मिति घोषणासँगै अभिनेत्री स्वस्तिमा खड्काको लुक्स पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा स्वस्तिमा अहिलेसम्मकै भिन्न लुक्समा देखिएकी छन् । रातो फरिया बेरेकी उनले बाउला च्यात्तिएको पुरानो चौबन्दी चोली लगाएकी छन् । घाँटीमा पहेँलो रंगको पोते, नाकमा साधारण बुलाकी र निधारमा रातो रंगको टीका लगाएर देखिएकी उनको अनुहारको भावले थकान, निराशा, चिन्ता, पीडा लगायत कुरा बोल्छ ।

सिनेमा ‘बुलबुल’ मा ट्याप्पो ड्राइभरको भूमिकामा गरेको अभिनयले वाहवाही बटुलेकी स्वस्तिमालाई ‘चिसो मान्छे’ ले थप उचाईँ दिलाउने धेरैको विश्वास छ । पोस्टरमा देखिएको उनको लुक्सले सिनेमामा उनले गरेको मेहेनत स्पष्टसँग देखिन्छ । सिनेमामा उनी बाजुराको अति विपन्न महिलाको भूमिकामा छिन् । सिनेमाका लागि उनले बाजुरामा बोलिने भाषा र लवज समेत सिकेकी थिइन् ।

शर्मिला पाण्डेको लगानीमा निर्माण भएको सिनेमामा स्वस्तिमाका अलावा अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमाको कथा, पटकथा, संवाद र छायांकन स्वयंम निर्देशक खनालको रहेको छ ।