द सिनेमा टाइम्स, काठमाडौं । निर्माता सन्तोष सेन निर्देशित सिनेमा ‘बलिदान’को एक्सन दृश्य खिच्न सुरु गरिएको छ । पूर्वको इटहरीमा तयार पारिएको सेटमा बिहीबारदेखि अभिनेता समीर भट्टसहितका कलाकारहरूको एक्सन दृश्य खिच्ने काम भइरहेको निर्देशक सेनले बताए ।
नेपाली र भारतीय प्राविधिक टिम लिएर करिब दुई सातादेखि छायांकन भइरहेको सिनेमाको अब दशैं अघिसम्म एक्सन दृश्यहरू खिचिने जानकारी निर्माण टिमले दिएको हो । सिनेमाका लागि एक्सन दृश्यहरू दक्षिण भारतबाट आएका स्टनर सामको नेतृत्वमा ३० जनाको टिमले तयार पारिरहेको छ ।
सामले दक्षिण भारतका ‘तंगलान’, ‘हात्ती मेरे साथी’, ‘कथिर’ जस्ता सिनेमाहरुमा द्वन्द्व निर्देशकको रुपमा काम गरिसकेका छन् । अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरू छायांकन भइरहेको निर्देशक सेनले बताएका छन् । एक्सन दृश्यमा मात्र डेढ करोड बढी खर्च हुने अनुमान गरिएको छ ।
सिनेमाले नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरुविरुद्ध बलिदान दिनुपर्ने कथा उठाएको छ । सिनेमामा समीरसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
आसुसेन फिल्मस् र सन्तोष सनेनको प्रस्तुतिमा निर्माण भैरहेको सिनेमाका लागि प्राविधिक सामग्रीहरू समेत भारतबाट ल्याइएको छ । यो सिनेमालाई निर्माता तथा निर्देशक सेनले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा चिनाउँदै आएका छन् । सिनेमामा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको रुपमा रहेका छन् ।
प्रतिक्रिया