सकारात्मक प्रतिक्रियासँगै ‘गौँथली’ले बढायो व्यापारिक रफ्तार

सकारात्मक प्रतिक्रियासँगै ‘गौँथली’ले बढायो व्यापारिक रफ्तार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत साउन १ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘गौँथली’ले प्रदर्शनपछि व्यापारिक गति समात्न थालेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमाले दिनप्रतिदिन व्यापारमा सुधार गर्दै दर्शकको राम्रो साथ पाइरहेको छ ।

रिलिजको सुरुवाती दिनमा औसत देखिएको व्यापार छैटौँ दिनसम्म आइपुग्दा उल्लेखनीय रूपमा बढेको निर्माण टिमले जनाएको छ । टिमका अनुसार पछिल्ला दिनमा सिनेमाका अधिकांश शोहरू हाउसफूल हुन थालेका छन् ।

दिउँसो र साँझका शोहरूमा बिहानैदेखि ८०-९० प्रतिशत टिकट बिक्री हुन थालेपछि हलमा गएर तत्काल टिकट पाउन कठिन अवस्था सिर्जना भएको निर्माण पक्षको दाबी छ । यसैबीच सिनेमाका निर्देशक कपिल रिजालले दर्शकको चासो बढेकाले अग्रिम टिकट बुक गर्न आग्रह गरेका छन् । व्यापारको दृष्टिकोणले अहिलेसम्म सिनेमाले करिब दुई करोड व्यापार गर्न सफल भएको टिमको दाबी छ ।

यद्यपि सिनेमाको आधिकारिक बक्सअफिस तथ्यांक सार्वजनिक भएको छैन् । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र राम्रो समीक्षाका कारण सिनेमाले हलमा राम्रो उपस्थिति कायम गर्न सफल भएको हो । सिनेमाले पारिवारिक सम्बन्ध, आत्मीयता र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ । यसैमार्फत सिनेमाले घर, परिवार र सम्बन्धका भावनात्मक पक्षलाई पर्दामा उतारेको छ ।

सिनेमा हेरेपछि दर्शक भावुक बनेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दर्शकहरूले सिनेमाको कथा र पात्रको मन छोएको बताइरहेका छन् । विवाहपछि महिलाहरूले पाएको दुःख देख्दा आफ्नै पीडा सम्झेर भावुक भएको महिलाहरूले नै प्रतिक्रिया दिइरहेका छन् ।

कतिपय दर्शक ‘गौँथली’को भूमिका निर्वाह गरेकी अभिनेत्रीलाई अँगालो हालेर रोइरहेका देखिन्छन्, जसले अन्य दर्शकलाई पनि हलसम्म तान्न मद्दत गरेको छ ।

एक दर्शकले सिनेमाको क्लाइमेक्समा सासु पात्रलाई प्रहरीसमक्ष उभ्याइएको भए सिनेमा अझ उत्कृष्ट बन्ने टिप्पणी गरे । अर्का दर्शकले बालविवाहदेखि लिएर महिलाहरूलाई पिछडिएको मान्ने र पश्चिम भेगमा चलिरहेको छाउपडी प्रथालाई समेत समेटेकाले सिनेमा अहिलेको समयमा पनि सान्दर्भिक रहेको प्रतिक्रिया दिए । कतिपय दर्शकले सिनेमाको दोस्रो भाग पनि आउने प्रतीक्षामा रहेको बताइरहेका छन् । यसरी बालकदेखि वृद्धसम्मका दर्शकले सिनेमाको प्रशंसा गरिरहेका छन् ।

सिनेमाका मुख्य कलाकार र निर्माण टिमले पनि दर्शकको प्रतिक्रियाले आफूहरू उत्साहित र खुसी भएको बताएका छन् । दर्शकको मायाले आफूहरूलाई थप हौसला मिलेको उनीहरूको भनाइ छ । सिनेमामा ‘गौँथली’की आमाको भूमिका निर्वाह गरेकी कलाकार सीतादेवी तिमिल्सिनाले दर्शकले ‘गौँथली’की आमाले छोरीलाई किन पढ्न नदिएको भनेर आफूलाई प्रश्न गर्ने गरेको सुनाइन् । त्यस्ता दर्शकलाई आफूले सिनेमामार्फत् छोरीलाई पढाउनुपर्छ भन्ने सन्देश दिन खोजेको भन्दै जवाफ दिने गरेको उनले बताइन् ।

दर्शकको प्रतिक्रियाले आफू निकै भावुक भएको मुख्य अभिनेत्री सिमरन खड्काले बताइन् । उनले भनिन्, ‘यसअघि यतिधेरै दर्शकको माया पाएका थिएनौँँ । निकै खुसी छु ।’ त्यस्तै, अभिनेता अरुण क्षेत्रीले सिनेमामा अटिजम भएको पात्रमा अभिनय गरेका छन् । ‘आफूले गरेको पात्रलाई दर्शकले कस्तो प्रतिक्रिया दिनुहुन्छ भनेर सुरुमा एक प्रकारको डर नै थियो। टिमले गरेको मेहनतअनुसार अहिले दर्शकबाट खुसी मिलिरहेको छ,’ उनले भने ।

डा. भोला रिजालको कथामा बनेको सिनेमा ‘गौँथली’को पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । सिनेमा डा. कपिल रिजालले निर्देशन गरेका छन् ।

डा.मा अरुण क्षेत्री, सिमरन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूले अभिनय गरेका छन् ।