‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा रियान र सन्तोष अनुबन्धित, मुख्य अभिनेत्रीमा सिमरन पन्त ?

‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा रियान र सन्तोष अनुबन्धित, मुख्य अभिनेत्रीमा सिमरन पन्त ?

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्ष माघमा प्रदर्शन भएको सिनेमा ‘द ब्लयू लाइट’ का निर्देशक बलिराम चौहान यतिबेला नयाँ सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’ को कलाकार छनोट र प्रि-प्रोडक्सनमा व्यस्त छन् । यो उनको दोस्रो निर्देशकिय सिनेमा हो । यसपटक उनी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारीमा छन् ।

सिनेमाको मुख्य भूमिकामा रियान गिरी र सन्तोष बानियाँ अनुबन्धित भैसकेका छन् । यी दुवैले २०८१ साल फागुनमा प्रदर्शन भएको सिनेमा ‘होस्टेल ३’ बाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् । यस सिनेमामा रियान र सन्तोषको दोस्रो सहकार्य हो । यससँगै निर्माण टिम अहिले मुख्य अभिनेत्रीको खोजीमा छ । तर द सिनेमा टाइम्सलाई प्राप्त जानकारी अनुसार निर्देशक बलिराम चौहानले सिनेमाको मुख्य अभिनेत्रीमा सिमरन पन्तलाई अनुबन्धित गरिसकेका छन् ।

यो बिषयमा निर्देशक चौहानलाई प्रश्न गर्दा अहिले आफूहरू अभिनेत्रीको खोजीमै रहेको बताए। तर सिमरन अनुबन्धित भएको कुरा भने नकार्न सकेनन् । यसबाट पनि बुझ्‌न सकिन्छ कि सिनेमाको मुख्य भूमिकामा उनले ‘होस्टल ३’बाट डेब्यु गरेका तीन कलाकारलाई पुनः पर्दामा ल्याउने तयारी भैरहेको छ । यसर्थ भन्न सकिन्छ कि तीनै जना चर्चित अनुहार भएको खण्डमा दर्शकमाझ सिनेमाप्रति दर्शकको उत्साह उच्च हुने देखिन्छ ।

निर्माण टिम नजिकको स्रोतले दिएको जानकारी अनुसार निर्देशक चौहानले यी तीन कलाकारलाई एकै दिन सिनेमा अनुबन्धित गरेका थिए ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने सिनेमाको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’, एउटै कुरामा हुने बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन् ।

सिनेमाले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेट्ने बुझिएको छ ।

निर्देशक चौहानले केही समयअघि सार्वजनिक गरेको थिम पोस्टरमा लेखिएको थियो, ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ । यस वाक्य र पोस्टरको चित्रणले सिनेमामा प्रेम, धोका र मानसिक द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको संकेत गर्छ ।

सिनेमाको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन् ।