द सिनेमा टाइम्स, काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत सिनेमा ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली, तम्रा शेरे खोइ..’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजित गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर तथा निर्देशक बोहराको शब्द रचना अनि राजनराजकै संगीत छ ।
कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर छन् । लोकआधुनीक शैलीको गीतले दर्शक, स्रोताको मन जित्नेमा आफू बिश्वस्त भएको गायक तथा संगीतकार राजनराजले सुनाए । कार्यक्रममा गीत गाएर माहौल तताएका राजनराजले नयाँ संगीत सृजना गर्नका लागि केही समय आफूले ‘बिश्राम’ लिएको तर अब पुनः संगीतमा सकृय भइसकेको बताए ।
अभिनेत्री सुरक्षा पन्तले ‘चमेलीको पोइ’ बाट आफूले निकै आशा राखेको बताउदै सिनेमा उत्कृष्ट बनेको उल्लेख गरिन् । यसअघि निर्देशक बोहरासँग ‘भैरे’मा काम गरेको स्मरण गर्दै ‘चमेलीको पोइ’को जनरा आफूले निकै कम पाएको बताइन् । ‘यसप्रकारको कमेडी तथा रियलबेसको सिनेमा मेरो निकै थोरै छन्,’ उनले भनिन्, ‘शीर्ष भूमिकामा रहेकाले पनि म निकै उत्साहीत छु ।’
अभिनेता मुकुन भुसालले केही निर्देशकले अफर गरेको भए तापनि यो नै सुरक्षासँग अभिनय गर्न पाएको पहिलो सिनेमा भएको बताए । ‘सुरक्षाजीसँग काम गर्ने ठूलो इच्छा थियो, केही निर्देशकले अफर गरेको भएतापनि जुरेको थिएन, यो सिनेमामा जुर्यो । निकै आशा लागेको छ ।’ यसअघि थुपै हिट गीत लेखेका निर्देशक बोहरा ‘ओइ ओइ चमेली’ लाई आम दर्शकले आफ्नो ‘ठूली’ सिनेमाको चर्चित गीत ‘म त छु कि क्या हो ठूली’ झै मन पराउने बिश्वास ब्यक्त गरेका छन् ।
निर्माता रामनारायण उपाध्याय र निर्मात्री सुनीता सापकोटाले ‘चमेलीको पोइ’बाट आफूहरु निकै आशावादी भएको बताए । ‘सबै काम उत्कृष्ट भएको छ,’ निर्माता रामनारायणले भने, ‘यो हाम्रो पहिलो सिनेमा हो । यसपछि पनि हामी निरन्तर सिनेमा बनाउने छौं ।’ उनले ‘चमेलीको पोइ’को अमेरिकामा बिशेष शो भइरहेको र दर्शकले मन पराएको जानकारी दिदै सिनेमा उत्कृष्ट बनाउन कुनै कसर नराखिएको बताए ।
पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको सिनेमाबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को पुनरागमन भएको छ । सिनेमामा त्रिपाठीका साथमा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन बिक्रम राई, उमेश राई, रबिन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन (खबपु), रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, बिशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतका कलाकारले अभिनय गरेका छन् ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको सिनेमा शेरबहादुर तामाङले खिचेका हुन् । सिनेमाको निर्मातामा सुनिता सापकोटा र राम नारायण उपाध्याय छन् । उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको सिनेमाको सह–निर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदिप कुमार सापकोटा छन् ।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको सिनेमामा कुमार महर्जनको द्धन्द्ध निर्देशन छ । बन्दे प्रसादले सम्पादन गरेको सिनेमा आरआर फिल्मस्ले बितरण गर्दैछ ।



प्रतिक्रिया