सिनेमा हल खुलेपछि पुन: प्रदर्शनमा आए ‘चपली हाईट ३ र कठपुतली’

सिनेमा हल खुलेपछि पुन: प्रदर्शनमा आए ‘चपली हाईट ३ र कठपुतली’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीको कारण माघ ३ गतेबाट बन्द भएका सिनेमा हल आजबाट सञ्चालनमा आएका छन् । सिनेमा हल सञ्चालनमा आएपछि प्रदर्शनकै क्रममा रोकिएका दुई नेपाली सिनेमा ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः प्रदर्शनमा आएका छन् । सिनेमा हल बन्द हुँदा ‘चपली हाइट ३’ तीन दिन मात्र प्रदर्शन हुन पाएको थियो भने ‘कठपुतली’ को तेस्रो हप्तामा प्रदर्शन रोकिएको थियो ।

‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमार आफूले दोस्रो मौका पाएको र दर्शकले साथ दिनेमा विश्वस्त देखिएका छन् । शनिवार राजधानीमा भएको सिनेमाको विशेष शोमा उनले भनेका थिए, ‘सिनेमा राम्रो बनेको छ । मैले राम्रो सिनेमा बनाए पनि दर्शकसम्म र्पुयाउन सकेको छु जस्तो लागेको थिएन । अर्को मौका पाएको छु । यो मौकाको हामीले भरपूर सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ ।’

‘चपली हाइट ३’ र ‘कठपुतली’ लाई पुनः प्रदर्शनमा मल्टीप्लेक्सहरुले उच्च शो दिएका छन् । फागुन १३ गतेभन्दा अगाडि कुनै नयाँ नेपाली र ठूलो विदेशी सिनेमा नभएकाले यी दुई सिनेमाले दुई हप्ताको समय पाएका छन् । तर, सिनेमा हेर्न जाने दर्शकले कोभिड खोप कार्ड भने अनिवार्य लिएर जानु पर्नेछ । पुनः सिनेमा हल खुलेर सिनेमा प्रदर्शन हुन थालेपछि सिनेमा क्षेत्रमा चहलपहल बढेको छ ।

निकेश खड्का निर्देशित ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, लक्ष्मी वर्देवा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला लगायतको अभिनय छ । सस्पेन्स-थ्रिलर जनरामा बनेको सिनेमाका निर्माता अर्जुन कुमार हुन् । सिनेमामा सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन छ ।

हरर जनरामा निर्माण भएको ‘कठपुतली’ लाई भिमसेन लामाले निर्देशन गरेका हुन् । सिनेमामा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पृथ्वी राना मगरले निर्माण गरेको सिनेमालाई सम्पदा मल्लले लेखेकी हुन् । सिनेमाको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।