अमेरिकाबाट ‘रबर सिटी’को छायांकन सुरु

अमेरिकाबाट ‘रबर सिटी’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विनोद पौडेलको निर्देशनमा निर्माण हुने सिनेमा ‘रबर सिटी’को छायांकन अमेरिकाबाट सुरु गरिएको छ । भुटानी शरणार्थीको कथामा आधारित सिनेमाको धेरैजसो छायांकन ओहियो राज्यको एक्रोन सहरमा हुनेछ । छायांकनको लागि एक महिनाको समयतालिका छुट्याइएको निर्देशक पौडेलले बताए ।

सिनेमाको मुख्य भूमिकामा सुशांक मैनाली छन् । सिनेमामा राधा लम्साल, अरुणा कार्की लगायतको पनि अभिनय रहनेछ । केही अमेरिकी कलाकारले पनि सिनेमामा अभिनय गर्नेछन् । निर्देशक पौडेल भावनात्मक अर्न्तद्धन्द्वलाई दृश्यभाषामा उतार्न अब्बल छन् । ‘बुलबुल’ जस्तो उत्कृष्ट सिनेमा बनाएका निर्देशक पौडेल लामो समयदेखि भुटानी शरणार्थीको विषयमा सिनेमा बनाउने अभ्यासमा थिए ।

‘रबर सिटी’ले भुटानी शरणार्थीको जीवनमा आउने उतारचढावको कथा भन्छ । ‘भुटानबाट लखेटिएका, नेपालमा आश्रय लिएका र अमेरिकामा शरणार्थी जीवन बिताइरहेका एउटा परिवारको कथा हो यो,’ पौडेल भन्छन्, ‘मुलुकको राजनीतिक र रणनैतिक निर्णयहरुले एउटा मान्छेको जीवनमा कति धेरै उथलपुथल ल्याउँछ भन्ने विषय यसमा देखाउन खोजिएको छ ।’

सिनेमाको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम अमेरिकामा हुने निर्माण पक्षले जनाएको छ । सिनेमालाई खासगरी सिनेमा महोत्सवमा प्रदर्शन गरिने निर्देशकको पौडेलले बताए । रबर सिटीलाई विश्वका प्रख्यात ओटीटी प्लेटफर्ममार्फत सार्वजनिक गर्नका लागि पनि पहल गरिरहेको निर्माण जनाएको छ ।