वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको मंगलबार राती निधन भएको छ । प्रहरीमा अनुसार लामाको आफ्नै कारमा अल्झिएर लड्दा निधन भएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए । ६६ वर्षिय लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका लामाले पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए ।

वरिष्ठ लोकगायक तथा कलाकार लामाका ‘कलकत्ते काइँयो केश मेरो बाँगो, पानी र्पयो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलु’ जस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

एक सयभन्दा बढी सिनेमामा अभिनय गरिसकेका लामाले २०३० सालमा निर्माण भएको सिनेमा ‘मनको बाँध’बाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । अभिनेता लामा पछिल्लो समय हाँस्य टेलीश्रृंखला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।