अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ । १७ वर्षीया एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर शाहविरूद्ध जाहेरी दर्ता गराएकी हुन् ।

गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ । शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् ।

तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएपछि बीचैमा पलले गायिकालाई फकाईफुल्याई गर्ने मौका पाएको देखिन्छ । यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ ।

उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारिरिक सम्बन्ध बलात्कार हो । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएकी थिइन् ।

प्रहरीले त्यतिबेला सबैकुरा सुनेर्बुझेर जाहेरी पनि तयार गरिसकेको थियो। तर घटना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठाएको थियो । प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्रहरी हिरासतमा पुगीसकेका हुन्थे ती प्रहरी अधिकृतले बताए ।