खगेन्द्र लामिछानेको ‘पानीफोटो’ भदौ १० मा रिलिज घोषणा

खगेन्द्र लामिछानेको ‘पानीफोटो’ भदौ १० मा रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता तथा निर्माता खगेन्द्र लामिछानेको डेव्यु निर्देशन रहेको सिनेमा ‘पानीफोटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । छायांकन सकिएको २ वर्षभन्दा बढी भइसकेपनि कोरोना महामारीका कारण सिनेमा रिलिज भएको थिएन । पानीफोटो आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ । वितरकसँग लामो छलफल पश्चात् सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’ लाई सिनेमाको स्वरुप दिएका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको सिनेमामा खगेन्द्रअलवा अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय रहेको छ ।

खगेन्द्रले नाटकलाई सिनेमामा ल्याउने आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गरे । उनी भन्छन्, ‘यो नाटकलाई सिनेमा बनाउँछु भन्ने मेरो २०११ देखिको सपना थियो । धेरैले नाटक रुचाउनुभएको थियो । यसलाई झन् धेरै दर्शकमाझ र्पुयाउन मन थियो, जुन सिनेमाबाट मात्र सम्भव थियो । यद्यपि, मैले पुस्तक भने निकालेको थिएँ । तर, सिनेमा नै बनाउन चाहन्थेँ, जुन बल्ल पूरा भयो ।’

काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन गरिएको सिनेमालाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमामा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । टुकी आट्र्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको सिनेमामा खगेन्द्र स्वयंको लेखन रहेको छ । सिनेमामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य निर्माताको रुपमा रहेका छन् ।