काठमाडौंमा चैत्र १७ देखि २१ सम्म ‘निफ’ आयोजना हुने

काठमाडौंमा चैत्र १७ देखि २१ सम्म ‘निफ’ आयोजना हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र १७ देखि २१ गतेसम्म ‘नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ (निफ) सञ्चालन हुने भएको छ । गत वर्ष कोरोनाभाइरसका कारण महोत्सव भर्चुअल माध्यमबाट गरिएको थियो । यसवर्ष भने राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको आयोजक सस्था नेपाल सिनेमा तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेण्ट्री तथा एनिमेटेड सिनेमाहरुको ७ वटा विधिको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै अभिनेता निर शाहले पहिलो संस्करण भन्दा यता परिस्कृत भएर आइरहेको बताए । उनले यस महोत्सवले नेपाली सिनेमाको क्षेत्रलाई थप शिक्षित बनाएको पनि बताए ।

शाहले भने, ‘यो निफलाई मैले पहिलो संस्करणको बेलादेखि नै नियालेर आइरहेको छु । पहिलो संस्करणमा यसले असाध्यै धेरै संघर्ष गर्नुपरेको थियो । तर दोस्रो संस्करणमा आइपुग्दा यसले आफूलाई अझ बढी परिस्कृत फम्र्याटमा प्रश्तुत गर्न सफल भयो । यसले हामीलाई धेरै शिक्षित र दिक्षित बनाएको छ । यो अभियानलाई अझै बढी अघि बढाएर लैजानु पर्छ ।’

यसपटक सिनेमा हलमा भौतिक रुपमा प्रदर्शन हुने र अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ । यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त सिनेमा उत्सव हुने आयोजकको विश्वास छ । महोत्सवमा अनुभवी र प्रसिद्ध सिनेमाकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ ।