पल शाह प्रकरणमा मानव अधिकार आयोगको आग्रह

पल शाह प्रकरणमा मानव अधिकार आयोगको आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पल शाहमाथि लागेको बलात्कारको आरोपबारे राष्ट्रिय मानव अधिकार आयोगले संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ । तनहुँ प्रहरीले शाहमाथि लागेको बलात्कारको आरोपमा अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको छ । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ ।’

अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहने आयोगका सहप्रवक्ता लोकनाथ बास्तोलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, यस सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमतिविना भिडियोहरू रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरू सार्वजनिक नगर्न आयोगले सबैलाई आग्रह गरेको छ ।

साथै अतिप्रचारका कारण प्रमाणहरू नष्ट हुनेतर्फ विचार पु¥याउन, आफूलाई प्राप्त प्रमाणहरू सार्वजनिक गर्नुको सट्टा अनुसन्धान अधिकारीहरूलाई उपलब्ध गराउन, कसैले पनि पक्ष र विपक्षमा अभिव्यक्ति नदिन, आफ्ना विचार र अभिव्यक्ति सम्प्रेषण गर्दा अरुको मर्यादामा आँच आउनेतर्फ विचार पु¥याउन विज्ञप्तिमा भनिएको छ ।