अमेरिकाको टेक्ससमा ‘ग्लोबल नेपाली सिनेमा अवार्ड’को पाँचौ संस्करण

अमेरिकाको टेक्ससमा ‘ग्लोबल नेपाली सिनेमा अवार्ड’को पाँचौ संस्करण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘ग्लोबल नेपाली सिनेमा अवार्ड’को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । नेपाल सिनेमा सोसाइटी, ग्लोबल नेपाली सिनेमा अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लीज इन द अमेरिकाको संयुक्त आयोजनामा जुलाई ३ तारिखमा आयोजना हुने अवार्डको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो ।

यसअघिका चारवटै संस्करण अमेरिकाका विभिन्न राज्यहरुमा भएका थिए । विश्वमहामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन । अवार्डमा सफल नेपाली सिनेमा र सिनेमाकर्मीलाई सम्मान साथै अमेरिकामा रहेका सिनेमाकर्मीलाई प्रोत्साहन तथा सम्मान गरिने कार्यक्रममा जानकारी गराइयो ।

अवार्डको उद्देश्य विदेशमा नेपाली सिनेमाको प्रवद्र्धन गर्नु भएको आयोजक संस्था ग्लोबल नेपाली सिनेमा अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए । नेपाललाई सिनेमा टुरिजमको हब बनाउन आफ्नो अवार्डले मुख्य भूमिका खेलेको श्रेष्ठको जिकिर थियो ।

‘नेपाललाई विदेशीमाझ सिनेमा छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार वा परिचित गराउनु पनि अवार्ड कार्यक्रमको महत्वपूर्ण लक्ष्य हो । सो कार्यक्रममा विगतमा पनि हलीउडका निर्माता निर्देशकलाई निम्ताउने गरिएको मात्र होइन, मन्चमा नै नेपाली वा विदेशी गीतमा विदेशीहरुबाट नृत्य प्रस्तुत पनि गरिएका उदाहरणहरु हामीमाझ छन् । यसपटक पनि सो प्रयास निरन्तर रहने छ’, अवार्डका अध्यक्ष श्रेष्ठले बताए ।

चाँडै अवार्डका लागि छनोट समिति गठन हुने बताइएको छ । ‘ग्लोबल सिनेमा अवार्ड’ लाई शुभकामना दिनका लागि नीर शाह, शिव श्रेष्ठ, करिश्मा मानन्धर, अशोक शर्मा, उज्जवल घिमिरे, आर्यन सिग्देल, रविन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।