ऐतिहासिक सिनेमा ‘नालापानी’को टिजर सार्वजनिक

ऐतिहासिक सिनेमा ‘नालापानी’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ऐतिहासिक कथावस्तुमा निर्माण भएको सिनेमा ‘नालापानी’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ४१ सेकेन्ड लम्बाईको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ ।

तिहारको अवसरमा कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेका सिनेमा टिजरमा ब्याकग्राउन्ड स्कोर र युद्धका सिन जबर्जस्त छ । टिजरले दर्शकलाई सिनेमाप्रति कौतुहल्ता जगाउने देखिन्छ । रिमेश अधिकारी निर्देशित सिनेमा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर निर्माण गरिएको हो ।

टिजर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले अहिले र आगामी पुस्तालाई पिता-पुर्खाले देशलाई कसरी कसैको बन्दक हुनबाट बचाएका थिए भन्ने सन्देश दिने बताए । चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष सिनेमा घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

सिनेमामा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण सिनेमामा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।

राम भट्टराई र हरि उप्रेतिले रचना गरेका सिनेमाका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सह-निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्मातामा मनोज शाक्य र रिमेश अधिकारी छन् ।