‘२ नम्बरी’ छायांकन भएको ल्वाङ गाउँमा देखाइयो

‘२ नम्बरी’ छायांकन भएको ल्वाङ गाउँमा देखाइयो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामा निर्देशित सिनेमा ‘२ नम्बरी’ले प्रदर्शनको दोस्रो हप्ता बक्सअफिसमा दर्शकको राम्रो साथ पाइरहेको छ । पहिलो हप्ताकै कमाईबाट लगानी उठाएको सिनेमाले दोस्रो साताको कमाई निर्माताको मुनाफा हो । आज शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन भैरहेको सिनेमालाई अहिले पनि दर्शकको अभाव छैन । मल्टीप्लेक्सहरुमा शो संख्या पनि उल्लेख्य छ ।

हलमा सफलतापूर्वक प्रदर्शन भइरहेको ‘२ नम्बरी’लाई निर्माताले छायांकन भएको ल्वाङ गाउँमा प्रोजेक्टरमार्फत् देखाएका छन् । सिनेमाको सम्पूर्ण छायांकन कास्कीको ल्वाङ गाउँमा भएको थियो । हलको सुविधा नभएकाले सिनेमा हेर्न नपाएका स्थानीयलाई निर्माण टिमले बिहीवार सिनेमा देखाएको हो । उक्त सिनेमा हेर्न ल्वाङ गाउँका २ सयभन्दा बढी स्थानीयहरु सहभागी भएका थिए ।

सिनेमा देखाउन निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका थिए । सिनेमाको पर्दामा आफ्नै गाउँका दृश्यहरु हेर्न पाउँदा स्थानीयले उत्साह व्यक्त गरेको निर्माता नेपालीले बताए । उनले भने- ‘सिनेमा सफल भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र सिनेमा देखाउन पुगेका हौं । स्थानीयको सहयोगले नै सिनेमाको छायांकन गर्न सजिलो भएको थियो ।’

सिनेमामा दयाहाङ र सौगातको केमेस्ट्रीलाई दर्शकले सर्वाधिक रुचाएका छन् । त्यस्तै, यो सिनेमाबाट सबैभन्दा बढी प्रशंसा सौगात र उपासनाले कमाएका छन् । सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ, पुकार गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, सुष्मा निरौला, कविता आले, प्रकाश घिमिरे, स्वर्गीय जयनन्द लामालगायतको अभिनय रहेको छ ।