२५ बर्षपछि हल पुगेर कुलमान घिसिङले हेरे ‘महापुरुष’

२५ बर्षपछि हल पुगेर कुलमान घिसिङले हेरे ‘महापुरुष’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत सिनेमा ‘महापुरूष’ हेरेका छन् । नेपालमा लोडसेडिङको अन्त्य गर्दै उज्यालोको देवताको ट्याग पाएका घिसिङले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा रहेको एफएक्युब सिनेमाज पुगेर सिनेमा हेरेका हुन् । मह जोडीको अभिनय रहेको र सिनेमालाई हेर्नेले राम्रो भनेकाले दर्शक बनेर विदाको समय सदुपयोग गरेको उनले बताए ।

सिनेमा हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले आफूलाई मन पर्ने सामाजिक विषयवस्तुमै सिनेमा रहेको जानकारी दिए । ‘हलमा सिनेमा हेरिरहदा उठान गरेको विषयले छोयो । सरल प्रस्तुति तर गम्भीर विषय । राम्रो कथा र नेपाली समाजसँग जोडिएको विषय’, निर्देशक घिसिङले भने, ‘हलमा खर्चेको समय र पैसाको सदुपयोग भयो । मन भित्रको अन्धकारलाई हटाउदै खुसी हुनुपर्छ भन्ने संदेश दिएको सिनेमा राम्रो बनेको छ ।’

उनले सिनेमाले उठान गरेको कथावस्तु, कलाकारको अभिनयको प्रसंशा गरे । महापुरूष रुपी मानवको मन भित्र गुम्सिकेको वास्तविकतालाई देख्न पाएँको र मनोरंजनसँगै शिक्षा दिने पक्ष सशक्त रहेको प्रतिक्रिया दिए । निर्देशक घिसिङलाई दर्शकको रुपमा हलमा पाउँदा आफू उत्साहित भएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।

‘हामीले अध्यारोमा गुम्सिएको आमाबुवालाई उज्यालो दिने प्रयास गरेका हौँ । आज उज्यालोको देउतालाई दर्शकको रुपमा पाउँदा सफल भएका छौँ’, निर्देशक भट्टराईले भने, ‘हल भिजिटमा पाएको प्रतिक्रियाले दर्शकसँग जोडिएको सिनेमा बनाए भन्ने लागेको छ । अघिल्लो सिनेमाको तुलनामा यसले पाएको वर्ड अफ माउथ निकै बलियो छ । म दर्शकसँग जोडिएको आभाष भइरहेको छ ।’ प्रतिक्रिया लिन डेव्यु अभिनेता अरुण क्षेत्री र डेव्यु अभिनेत्री अञ्जना बराईली पनि हल पुगेका थिए ।

निर्माता दीपेश खत्रीले सिनेमा मार्फत एकल अभिभावकको समस्यालाई उजागर गर्ने प्रयाश गरेको बताए । ‘एक्लोपनमा गुम्सिएका बुवाआमाको मर्म सिनेमामार्फत व्यक्त गरेका हौँ । महापुरूष नभई मानव बनेर बाच्न सिनेमाले प्रेरित गर्नेछ’, निर्माता खत्रीले भने । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतले अभिनय रहेको छ ।

सिनेमामा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा दिपेश खत्री म्याक्स रहेका छन् ।