लागुऔषध विरुद्धको सन्देशसहित ‘सरी मम’को टिजर सार्वजनिक

लागुऔषध विरुद्धको सन्देशसहित ‘सरी मम’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको सिनेमा ‘सरी मम’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाकी प्रमुख पात्र सरीता लामिछानेको जन्मदिनको अबसरमा निर्माण टिमले सिनेमाको टिजर रिलिज गरेको हो ।

सार्वजनिक टिजरमा परिवारको सदस्य दुर्व्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ । किशोरावस्था उमेरलक्षित सिनेमाको सार्वजनिक टिजरले कुलतविरुद्धको सन्देश बोल्छ । निर्माता विनोद लामाले सिनेमाको टिजर सार्वजनिकसँगै रिलिज मिति समेत हेरफेर भएको जानकारी दिए।

प्राविधिक कारणबस सिनेमाको पोष्ट प्रोडक्सनको काम सम्पन्न नहुने भएपछि पुर्वघोषित मिति मंसिर १५ बाट सरेर सिनेमा अब मंसिर २९ मा रिलिज गर्ने निर्णयमा पुगेको निर्माता लामाले जानकारी दिए । उक्त मितिमा सिनेमा रिलिज हुँदा पनि पुर्वनिर्णय अनुसार नै सिनेमा भने एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि पहिलो चरणमा बागमती प्रदेशमा मात्रै प्रदर्शन गरिने निर्माता लामाले बताए ।

बागमती प्रदेश अन्तर्गतका हलमा सार्वजनिक प्रदर्शनपश्चात सिनेमालाई देशब्यापी रूपमा लक्षित वर्गसम्म पुर्याउने अभियान सुरू गर्ने लामाले बताएका छन् । नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । सिनेमामा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको सिनेमाका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको सिनेमाको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरी, नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन, एन(प्याब्स, हिसान, शिक्षक महासंघ लगायतले सहकार्य गरेका छन् । निर्माण ब्यानर एनएफआई कृयशनको आफ्नै युट्यूव च्यानल मार्फत सिनेमाको टिजर रिलिज गरिएको छ ।