चलचित्र विकास बोर्ड दुबईमा ‘नेपाली सिनेमा फेस्ट’ गर्दै

चलचित्र विकास बोर्ड दुबईमा ‘नेपाली सिनेमा फेस्ट’ गर्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले ‘नेपाली सिनेमा फेस्ट २०२३’को आयोजना गर्ने भएको छ । सुर्य कर्पोरेशनको सहकार्यमा ‘टेकिङ नेपाली सिनेमा टु दि वल्र्ड’ भन्ने नारासहित दुबईमा सिनेमा फेस्टिभल आयोजना गर्न लागिएको हो ।

बिहीबार बोर्डमा एक कार्यक्रमका बीच अध्यक्ष भुवन केसी र कर्पोरेशनका सिइओ बाशुदेव लामिछानेबीच सम्झौताको कागजपत्र आदान-प्रदान भयो । आगामी फागुन १ देखि ३ गतेसम्म दुबईमा कार्यक्रम आयोजना हुनेछ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव र बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको बार्षिक कार्यक्रम अन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शिर्षकमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

चलचित्र विकास बोर्डद्धारा आयोजना हुने यो कार्यक्रम अन्तराष्ट्रिय स्तरको पहिलो कार्यक्रम हो । तीन दिने कार्यक्रममा अरबी भाषामा सबटाईटाल गरी नेपाली सिनेमाको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमै रहने कलाकारको विभिन्न प्रस्तुती, युएईमा नेपाली सिनेमाको बजार विस्तार तथा छायांकन सुविधाको पहलका लागि त्यहाँको सरकारका प्रतिनिधि, नेपाली दुतावास, व्यापारी, बिशिष्ट व्यक्ति तथा कलाकर्मीबीच अन्तक्र्रिया हुने बोर्ड अध्यक्ष केसीले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष केसीले अन्तराष्ट्रिय स्तरमा नेपाली सिनेमाको बजार विस्तारको पहलको लागि सुरु गरिएको कार्यक्रम नेपाली सिनेमा उद्योगको लागि महत्वपूर्ण रहेको बताए । युएईमा नेपाली सिनेमाको सेन्सरमा सहजता ल्याउन, निरन्तर सिनेमा प्रदर्शनको वातावरण मिलाउन, युएई र नेपालको कला-संस्कृतिको सहकार्यताको लागि कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास विकास बोर्डको छ ।