‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, रहस्यमय वर्षा

‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, रहस्यमय वर्षा

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउन १८ गतेबाट रिलिज हुने सिनेमा ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ ।

वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठुलो राखिएको छ । जसले सिनेमामा वर्षाको भूमिका निकै महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडा तथा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र निर्माता तथा अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ।

सिनेमाको सार्वजनिक नयाँ पोस्टरको थिम ‘सर्कल थिम’मा रहेको छ । जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यहरूलाई घुमाइएको छ । रोचक र रहस्यमय कथा बोल्ने यो पोस्टरमा सिनेमाको शीर्षकलाई पनि सर्कल थिममा नै राखिएको छ ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो सिनेमाको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शंकर कोइरालाले बताए ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको कथा आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेको सिनेमामा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ ।

सिनेमामा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ । सिनेमालाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।