काठमाडौं। सिनेमा ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो सिनेमा आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ ।
सिनेमाको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले सिनेमामा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।
‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनले यसअघि ‘अगस्त्य: च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए।
सिनेमा एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ। चौधरीका अनुसार यस सिनेमामा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्नेछन्। सिनेमाको छायांकन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ। अन्य कलाकारहरूको अनुबन्ध जारी रहेकाले निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए।
निर्देशक सौरभ चौधरीलाई ‘अगस्त्य: च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ।


प्रतिक्रिया