ऐन अभावका कारण आदिवासी जनजाती सिनेमा ओझेमा परे : बोर्ड अध्यक्ष केसी

ऐन अभावका कारण आदिवासी जनजाती सिनेमा ओझेमा परे : बोर्ड अध्यक्ष केसी

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा निर्माण भएका आदिवासी जनजाती सिनेमाले विश्वमा नेपालको नाम चिनाउने काम गरेको विकास बोर्डका अध्यक्ष भुवन केसीले बताएका छन् । आदिवासी जनजातीले आफ्नो भाषा संस्कृतिलाई मध्यनजर गर्दै सिनेमा निर्माण गरेपनि नेपालमा यस बिषयमा ऐन अभावका कारण ओझेमा पर्ने गरेको उनको धारणा रहेको थियो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी सिनेमा प्रवर्दन समिति’ले बिहिबार इटहरीमा आयोजना गरेको ‘बृहत् बिचार गोष्ठी कार्यक्रम-२०८१’मा बोल्दै केसीले आदिवासी जनजाती सिनेमाकर्मीको गतिबिधि बढ्दै गएको खुसी ब्यक्त गरेका थिए ।

आदिवासी जनजाति सिनेमाकर्मी महासंघ, कोशी प्रदेशको सह-आयोजना रहेको कार्यक्रममा आदिवासी जनजाति मातृभाषीहरुका बिभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै सिनेमाकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले चलचित्र विकास बोर्ड अब काठमाडौंमा मात्रै सीमित नभएको बताए ।

अभिनेत्री मिरुना मगरले सिनेमा क्षेत्र आफ्ना लागि विद्यालय जस्तै भएको बताइन् । उनले आफुले धेरै समुदायको पात्र बनेर अभिनय गर्न पाएकोमा खुसी ब्यक्त गरिन् । आदिवासी जनजाति मातृभाषी सिनेमा प्रवर्दन समितिका संयोजक ज्योतिराज राईले सिनेमा नगरीको विकासमा सबै समुदायको उत्तिकै भूमिका रहेको बताए ।

यो कार्यक्रममा अभिनेत्री मिरुना मगर, गीतकार मिना सिंगक, निर्माता तथा निर्देशक लाख बहादुर तामाङ, कलाकार डा.सञ्जय खतिवडा, कलाकार तथा निर्माता नवीन पराजुली, लिम्बु सिनेमाका निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष विजय सन्योक सुब्बा, भुजेल सिनेमाकर्मी संघका उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मन्चका कार्यवाहक अध्यक्ष डिक बहादुर भुजेल लगायतलाई सम्मान समेत गरिएको थियो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी सिनेमा प्रवर्दन समिति’ले पछिल्लो समय देशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम मार्फत आदिवासी जनजाति तथा मातृभाषीका सिनेमा निर्माण र प्रवद्र्धनमा प्रोत्सान मिल्ने कार्यक्रम र सहजिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।