‘बेहुली फ्रम मेघौली’को गीतलाई दर्शक प्रतिक्रिया कस्तो मिलिरहेको छ ?

‘बेहुली फ्रम मेघौली’को गीतलाई दर्शक प्रतिक्रिया कस्तो मिलिरहेको छ ?

द सिनेमा टाइम्स
798
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशैंको अवसर पारेर असोज १७ गते घटस्थापनाको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को प्रचारलाई तीव्रता दिन निर्माण टिमले अहिलेसम्म दुई गीत सार्वजनिक गरिसकेको छ ।

पहिलो प्रमोसनल गीत ‘बिहे गर्ने कि नगर्ने’ सार्वजनिक भएको केही हप्तामा नै दोस्रो गीत ‘उडायो मन’ रिलिज गरिएको थियो । यी दुवै गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । बिशेषगरी दोस्रो गीत उडायो मनलाई दर्शकले रुचाएको पाइएको छ । यो गीतमा नेपाली र थारु भषाको समिश्रण भएकाले पनि दर्शकले फरक स्वाद मिलेको प्रतिक्रिया दिइरहेका छन् ।

नेपाली सिनेमामा लामो समय पश्चात फरक दुई भाषालाई एउटै गीतमा फरक-फरक भाषाको समिश्रण गरिनुलाई दर्शकले रुचाएको प्रतिक्रिया युट्युब कमेन्ट बक्समा पढ्न सकिन्छ । जसले गर्दा सिनेमाको दर्शकमाझ हाइप पनि राम्रो बनेको बुझ्न गाह्रो पर्दैन् । यसका साथै गीतमा फिचर्ड भएका अभिनेत्रीद्धय स्वस्तिमा खड्का र सिमरन खड्काको डान्स स्टेपलाई पनि दर्शकले रुचाएका छन् ।

गीतको कमेन्ट बक्समा धिरेन नामका एक कमेन्टरले लेखेका छन्, ‘दामी गीत, धन्यवाद हाम्रो थारु कला, संस्कृतिलाई यो गीतबाट प्रस्तुत गरिदिनु भएको छ ।’ यस्तै अर्का कमेन्टर रामचन्द्र केसीले लेखेका छन्, ‘आहा कति मिठो लाग्यो, धेरैपछि मनले चाहेको भिडियो हेर्न पाइयो, मन शान्त पार्ने ।’ तेस्रो कमेन्टर शैलेस घोताने गुरुङले लेखेका छन्, ‘गीत संगीतको साथै सवैको अभिनय सारै राम्रो लाग्यो । श्रब्यदृश्य झन् दामी छ । हाम्रै घर गाउँको माटोमा खिचिएको सिनेमा हेर्न एकदम आतुर छु ।’

सिनेमाको गीतमा यस्ता सयौं कमेन्ट पढ्न् पाइन्छ । जसबाट सिनेमाका लागि दर्शक कति उत्साहित छन्, भन्ने बुझ्न गाह्रो पर्दैन् । यसैमाथि सिनेमामा घामड शेरे पश्चात निश्चल र स्वस्तिमाले एकसाथ स्क्रिन सेयर गरेकाले पनि सिनेमा दर्शकमाझ प्रतिक्षित रहेको छ । दुई गीत पश्चात दर्शक अब सिनेमाको ट्रेलरको प्रतिक्षामा रहेको प्रतिक्रिया पनि दुवै गीतमा उत्तिकै देख्न पाइन्छ ।

सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।