सशस्त्र द्वन्द्वकालको प्रेम कस्तो थियो भनेर बुझाउन खोजेका छौं : अशोक थापा मगर

सशस्त्र द्वन्द्वकालको प्रेम कस्तो थियो भनेर बुझाउन खोजेका छौं : अशोक थापा मगर

‘द्वन्द्वकालका घटनाबारेमा थुप्रै कथाहरु भेटिन्छन् । त्यतिखेरको प्रेम कस्तो थियो त ? यसबारे आमजनतालाई बुझाउनुपर्छ भन्ने लागेर सिनेमा निर्माण गरेका हौँ’, निर्देशक थापामगरले भने ।

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । असोज ३ गते संविधान दिवसको अवसर पारेर सिनेमा ‘खुस्मा’ प्रदर्शनमा आउँदैछ । यो सिनेमाबाट अशोक थापा मगरले निर्देशनमा डेव्यु गरेका छन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमाको निर्देशन गरेको अनुभव छ । त्यही अनुभवको आधारमा उनले अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई लिएर फिचर सिनेमा निर्देशन गरेका हुन् ।

उनी अहिले सिनेमाको पोस्ट प्रोडक्सनसँगै प्रचारमा पनि उत्तिकै व्यस्त छन् । विभिन्न मिडियासँग कुराकानी गर्दै सिनेमाको कथासार बुझाउने उनको दैनिकी बनेको छ आज भोली । त्यसका साथै दर्शकलाई सिनेमाको गीत, टिजर र ट्रेलरले जगाएको आशा र भरोसालाई यतावत राख्दै उत्कृष्ट सिनेमा पस्किनु पर्ने चुनौती पनि उनी माथी छ । त्यसैले त निर्देशक थापा दिउँसो मिडियासँग भेटघाटबाट समय निकालेर सिनेमालाई उत्कृष्ट बनाउन लागि परेका छन् ।

केही दिन अगाडी आयोजित ‘खुस्मा’को पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक अशोक थापा मगरले सशस्त्र द्वन्द्वकालको प्रेमलाई सिनेमार्फत देखाउन लागेको बताए । सोही कार्यक्रममा सिनेमाको कथा राजनीतिक द्वन्द्वमा आधारित रहेपनि प्रेमकथालाई प्राथमिकता दिएको उनले प्रस्ट पारेका थिए । त्यसो त उनले द्वन्द्वलाई आफुले प्रत्यक्ष रुपमा नभोगेका खुलाए ।

‘हामी युद्धमा पसेका छैनौं । त्यहाँको जनताको न्यायका लागि सिनेमा बनाएको पनि होइनौं । सरकार र तत्कालीन माओवादीबीचको केही बाछिटामात्रै हो । हामीले त्यतिखेरको प्रेम कस्तो थियो भनेर सिनेमामार्फत बुझाउन खोजेका हौँ’, उनले सिनेमाको कथा स्पष्ट पार्दै भने । द्वन्द्वका बेला उनी नेपालमा थिएनन् । त्यसैले कथा तयार पार्न निकै कठिन भएको अनुभव उनले सुनाएका थिए ।

‘द्वन्द्वकालका घटनाबारेमा थुप्रै कथाहरु भेटिन्छन् । त्यतिखेरको प्रेम कस्तो थियो त ? यसबारे आमजनतालाई बुझाउनुपर्छ भन्ने लागेर सिनेमा निर्माण गरेका हौँ’, निर्देशक थापामगरले भने । उनी सिनेमामा सम्पुर्ण नेपालीले भोगेको कथा रहेको बताउँछन् । साथै, हरेक नेपालीले खुस्माको कथालाई आत्मासाथ गर्ने विश्वास पनि उनको छ ।

‘सिनेमाको कथा लेखन सुरु गर्दा हामी एकजना आफन्तको कथाबाट प्रभावित थियौँ । स्थलगत अवलोकन गर्दा कथा मोडिएको छ । कथाको केही अंश कसैको व्यक्तिगत जीवनसँग मिल्न सक्छ’, उनले भने । रुकुम त्यति बेला द्वन्द्वग्रस्त जिल्लाको सूचीमा थियो । त्यसैले पनि हामीले सिनेमा छायांकनको सवैभन्दा उपयुक्त गन्तव्यका रुपमा रुकुम रोजेका हौं ।

‘सिनेमा छायांकनका लागि सर्वप्रथम त हामी केही साताअघि रुकुम पुगेर त्यहाँका स्थानिय बासिन्दालाई सिनेमा निर्माणबारेमा सबै वृत्तान्त सुनायौं । उहाँहरू आफ्नो गाउँ ठाउँमा सिनेमा निर्माण हुने भएपछि निकै खुसी हुनुभयो । सहयोग गर्नुभयो । हामीलाई अर्को ठाउँमा सुटिङ गर्छौं भन्दा रोक्नुसमेत भयो’, निर्देशक अशोक थापा मगरले भने ।

‘खुस्मा’को कथा सन्देशमूलक रहेको उनको दाबी छ । सिनेमाले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । हामीले सार्वजनिक प्रचार सामाग्रीबाट दर्शक सिनेमाप्रति निकै आशावादी र उत्साहित रहेको पाएका छौं । सिनेमा हेरेपछि हाम्रा प्रचार सामाग्रीबाट उत्साहीत दर्शक प्रफुल्लित र सन्तुष्ट हुने विश्वास छ । हेरौं असोज ३ गतेपछि के हुन्छ त्यो त दर्शकको हातमा रहेको कुरा हो । हामीले शतप्रतिसत मेहनत गरेका छौं । त्यसको प्रतिफल मिल्ने अपेक्षा रहेको निर्देशक थापा मगरले सुनाए ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।