काठमाडौं । असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को प्रिमियर सम्पन्न भएको छ । मंगलबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर सम्पन्न गरिएको हो । सिनेमाको भव्य प्रिमियर शोमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको सिनेमा हेर्न राजनिज्ञ, सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर र रुकुमका स्थानिय बासिन्दा सिनेमा हेर्न हल पुगेका थिए ।
कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले ‘खुस्मा’ हेरिरहँदा केही ठाउँमा आफु निकै इमोस्नल समेत भएको बताइन् । उनले धिरजसँगै सिनेमाकी मुख्य अभिनेत्री उपासनाको अभिनयको पनि तारिफ गरिन् ।
प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले ‘खुस्मा’ सिनेमा जस्तो नभई एउटा दस्तावेज जस्तो भएको बताए । ‘खुस्मा खासमा भन्दा दस्तावेज नै हो । निर्देशक अशोक जीले पहिलो पटक सिनेमा निर्देशक गर्नु भाको भन्ने कुरा विश्वास नै लागेको छैन् । किनभने सिनेमा हरेक एङगलबाट प्रस्टसँग प्रस्तुत गर्नुभाको छ । मैले आजसम्म २०/२५ वटा सिनेमाको प्रिमियर शोमा आइसेक हरेक सिनेमामा म राम्रो छ हेर्दिनुहोला मात्र भन्थे । यसमा के छ भने दम छ । एक पटक तपाईले सिनेमा हेर्नु भएन भने तपाईले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न’, उनले भने ।
‘एक जना सामान्य मान्छेको जीवनमा राज्य पक्ष र विद्रोही पक्षबाट केकति असर पर्यो भन्ने कुरा स्पष्ट रुपमा देखाउनु भएको छ । सिनेमा हेरिरहँदा यो सिन पश्चात यो सिन आउला भन्ने कल्पनासम्म गर्न सक्नुहुन्न । लाकुरीको रुख र गिद्ध उडेको लगायत विभिन्न दृश्यबाट सिनेमाको सरल सवैले देखे भोगेको कुरालाई सिनेमामा प्रस्तुत गरिएको छ’, सांसद शाहीले भने ।
निर्देशक निश्चल बस्नेतले ‘खुस्मा’बाट निर्देशक अशोक थापा मगरले जे चिज भन्न खोज्नु भएको थियो । त्यसलाई मज्जाले प्रस्तुत गर्नु भएको छ । उहाँ आफैले सिनेमा लेख्नु अनि सम्पादन पनि आफै गर्नु भएको छ त्यसैले पनि सिनेमा निर्देशक ज्युले चाहेको जस्तो बनाउन सक्नु भएको होला । कलाकारमा उपसनाको काम अत्यन्तै राम्रो छ । त्यससँगै धिरजले पनि अभिनयमा आफुलाई अब्बल साबित गरेका छन् । अन्य कलाकारहरुले पनि निकै राम्रो काम गरेकाले ‘खुस्मा’ एकपटक सवैले हेर्नै पर्ने सिनेमा बनेको छ । अभिनेता सलिनमान बनियाले पनि सिनेमा निकै मन परेको बताए ।
प्रिमियरमा सिनेमा हेरेपछि अधिकांशले सिनेमाले दर्शकलाई होल्ड गर्ने बताए । तत्कालीन माओवादी र सरकारबीच द्वन्द्वले आम नागरिक कसरी प्रभावित हुन पुगे र निर्दोष नागरिक त्यसको शिकार भए भन्ने सिनेमाले सरल तरिकाले देखाएको सिनेमाकर्मीले प्रतिक्रिया दिएका छन् ।
धिरज मगर र उपासना सिंह ठकुरीको कामको खुलेर प्रशंसा भएको छ । सिनेमाले सरकार-माओवादी द्वन्द्वले आम नागरिकसँगै मायालु जोडीलाई पारेको प्रभाव देखाएको छ । द्वन्द्वको नाममा कसरी निर्दोष व्यक्ति पीडित भए र त्यसबीच उमेर पाकेका व्यक्तिदेखि नवविवाहीत जोडी र केटाकेटी कसरी गुज्रिनु परेको थियो भन्ने सिनेमाले देखाएको छ ।
दुई दशक अगाडिको नेपाली समाज बुझ्ने सिनेमा हो खुस्मा । दुई दशक पहिलाको द्वन्द्वको घाउ अझै पनि खाटा नबसिसकेको भन्दै सरकारलाई खोई जिम्मेवार बनेको भन्ने प्रश्न पनि सिनेमाले गरेको छ । मायालु जोडीको प्रेम, जिम्मेवार नवविवाहीत जोडीको प्रेममा खलनायक बनेको द्वन्द्व हेर्नेका लागि खुस्मा रोजाइको सिनेमा हो ।
सिनेमा भोलिबाट प्रदर्शनमा आउँदैछ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो ।
डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।
प्रतिक्रिया