पौराणिक एक्सन-थ्रिलर ‘डिएनए’को घोषणा टिजर सार्वजनिक

पौराणिक एक्सन-थ्रिलर ‘डिएनए’को घोषणा टिजर सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । पौराणिक एक्सन-थ्रिलर कथामा निर्माण हुन लागेको सिनेमा ‘डिएनए’को घोषणा टिजर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक सिनेमाको ३ मिनेट २२ सेकेन्ड लामो टिजरले कथावस्तु बारेमा प्रकाश पार्छ । एक पौराणिक वस्तुमाथि सिनेमाको कथा केन्द्रित रहेको टिजरले देखाउँछ ।

यो सिनेमाबाट डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेल सार्वजनिक घोषणा टिजरमा एक्सन अवतारमा प्रस्तुत छन् । बाकस लिएर दौडिरहेका एक पात्रलाई केही व्यक्तिहरुले कुटपिट गरेपछि बाइकमा सुधनको प्रवेश हुन्छ । ती व्यक्तिलाई बचाउन उनी एक्सनमा उत्रिन्छन् । उनको लुक्स हेर्दा प्रहरीको भूमिकामा हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सिनेमाको घोषणा टिजरको अन्तिममा उनी बाकसबाट निस्किरहेको अनौठो प्रकाश देखेपछि अचम्मित भावमा देखिएका छन् । उनी यसैको खोजीमा रहेको अनुमान गर्न सकिन्छ । सिनेमामा चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त लेखन एवं निर्देशन रहनेछ । पौराणिक कथा र एक्सन-थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने निर्देशक त्रिपाठीको विश्वास छ ।

फोनिक फ्लिकको प्रस्तुति रहेको सिनेमामा बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमाले सहकार्य गरेका छन् । सिनेमाको छायांकन आगामी फागुनपछि सुरु गरिने निर्माण टिमले जानकारी दिएको छ । सिनेमामा राजु तामाङको द्वन्द्व निर्देशन रहनेछ । सुशान्त केसी र प्रशान्त योगीले छायांकन गर्नेछन् भने सहायक छायांकारमा यज्ञलाल ज्ञवाली छन् ।

कुमार भास्कर निर्माता, आशिष पुडासैनी एसोसियट निर्माता र विकास भण्डारी कार्यकारी निर्मातामा रहने ‘डिएनए’मा मानस्वी मालाकारको संगीत तथा गणेश क्षेत्रीको सम्पादन छ ।