‘सानो संसार’ हेर्ने दर्शकले कथा र पात्रमा आफैलाई महसुस गर्छन् : अर्जुन कुमार

‘सानो संसार’ हेर्ने दर्शकले कथा र पात्रमा आफैलाई महसुस गर्छन् : अर्जुन कुमार

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । असोज ११ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘सानो संसार’को निर्माण टिमले सोमबार काठमाडौंको एक रेष्टुरेन्टमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । मध्यमवर्गीय परिवारको कथालाई उठाएको सिनेमालाई सफल निर्माता अर्जुन कुमारले निर्माण गरेका हुन् ।

यो सिनेमा पहिले वेब सिरिजको रुपमा निर्माण गरिएको थियो । युट्युबमा चार भाग प्रसारण समेत भइसकेको थियो । यो सिरिज हेरेपछि सिनेमा निर्माण गर्नुपर्छ भनेर निर्माण टिमलाई अर्जुनले १२ एपिसोड मध्ये बाँकी ८ एपिसोडको प्रसारण रोक्न लगाए । उनी यो सिनेमाको कथावस्तु र निर्माणप्रति सन्तुष्ट हुनका साथै दर्शकलाई मन पर्नेमा ढुक्क समेत देखिन्छन् ।

यसअघि आफूले निर्माण गरेका सिनेमामध्ये ‘सानो संसार’ उत्कृष्ट रहेको दाबी निर्माता अर्जुनको छ । ‘मैले अहिलेसम्म जति सिनेमा बनाएँ, त्यसमध्येको उत्कृष्ट सिनेमामा यही हो,’ उनले पत्रकार भेटघाट कार्यक्रममा भने । यसअघि उनले कुनै सिनेमाको प्रिमियर गरेका थिएनन् । ‘सानो संसार’को भने भोली बुधबार सिटी सेन्टरस्थित बिग मूभिजमा प्रिमियर शो समेत राखिएको छ ।

यसले पनि सिनेमाप्रति निर्माता अर्जुन कुमारको विश्वास देखाउँछ । उनी भन्छन्, ‘यसअघि मैले कुनै पनि सिनेमाको प्रिमियर गरेको थिइनँ । पहिलो पटक ‘सानो संसार’को गर्दैछु । सिनेमाको केही दिन अगाडी सेन्सर गरिएको थियो । सेन्सरमा सिनेमाका हेरेका बोर्ड पदाधिकारीले राम्रो छ भनेपछि नै मलाई प्रिमियरको आँट आएको हो । फिल्म हेर्दा सेन्सरका पदाधिकारीहरु समेत भावुक हुनुभएको थियो ।’

निर्माता अर्जुनलाई ‘सानो संसार’ जस्ता सिनेमा दशकौंमा एउटा बन्छ भन्ने लाग्छ । ‘मेकर भएपछि फरक-फरक जनरामा सिनेमा बनाउनुपर्छ । यो सिनेमा मैले किन बनाएँ भने यसमा मैले आफ्नै कथा देखेँ’, उनी भन्छन्, ‘यस्ता खालको कथामा दशकौंपछि एउटा सिनेमा बन्छ, जसले धार नै परिवर्तन गर्छ । ‘सानो संसार’ त्यस्तो सिनेमा हो । यो सिनेमा जसले हेर्छ, उसले आफूलाई पाउँछ । यो मेरो दाबी नै हो ।’

‘सानो संसार’की मुख्य कलाकार सीतादेवी तिमल्सिनालाई पनि सिनेमा हेर्दा दर्शकले आफूलाई पाउँछन् भन्ने विशवास छ । सिनेमा मध्यम वर्गीय परिवारको कथा उठाउनुका साथै नेपालमा यही वर्गको जनसंख्या धेरै रहेकाले कुनै न कुनै पार्टले आफैलाई पाएको महसुस गराउँछ । मध्यम वर्गीय परिवारको आवश्यकता कस्ता हुन्छन् र त्यो पूरा गर्ने क्रममा आउने समस्या सिनेमाले देखाएको छ ।

यो सिनेमाबाट अभिनयमा डेव्यु गरेकी अभिनेत्री अन्जसा रिजाल ‘सानो संसार’ हरेक घरमा मिल्ने कथा रहेको बताउँछिन् । ‘मेरो क्यारेक्टरले धेरै उद्देश्य बोकेको छ । ऊ बाहिर जान चाहन्छ । अहिलेको समयमा बाहिर जाने प्रायः युवाको सपना हुन्छ । त्यसको प्रतिनिधित्व सिनेमामा मेरो पात्रले गरेको छ । सिनेमाको कथा र पात्रमा आफ्नोपन छ’, उनी आफ्नो चरित्रको बारेमा भन्छिन् ।

यही सिनेमाबाट डेव्यु गरेकी अर्की अभिनेत्री अनु दाहाललाई आफ्नो चरित्रमा अहिलेको युवापुस्ताले आफैलाई पाउने बताइन् । ‘सिनेमामा मेरो क्यारेक्टर परिवारको जेठी छोरी हो । यो परिवासमा छोरा पनि छ तर ऊ हराएको हुन्छ । त्यसपछि मेरो क्यारेक्टरले परिवारको जिम्मेवारी उठाएपछि बुबाआमा र सन्तानबीच भिन्नता आउँछ’, उनी भन्छिन्, ‘सिनेमामा काम गर्दा यो कुरा म आफैंले पनि महसुस गरेको हुँ । मजस्तो धेरै युवाले त्यो पात्रलाई महसुस गर्नुहुन्छ ।’

सिनेमामा राज शर्मा पंगेनी र शिशिर सिवाकोटीको पनि मुख्य भुमिका रहेको छ । उनीहरुले पनि आफ्नो चरित्रलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् । सिनेमाका मुख्य अभिनेता शर्माले लामो समयदेखि आफु यो क्षेत्रमा भएपनि दर्शकले चिन्न नसकेकाले यो सिनेमाले चिनाउनेमा आशावादी देखिए । यसअघि पनि केही सिनेमामा काम गरेको थिए । तर, दर्शकले नोटिस गर्नु भएन । ‘सानो संसार’मा आफु क्यारेक्टर अनुसार सही पात्र रहेको विश्वास निर्माता र निर्देशकलाई भएकाले पनि आफुमा केहीहदसम्म आशा जगाएको बताउँछन् ।

पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।