कहाँ छन ‘रुद्रप्रिया’ ?

कहाँ छन ‘रुद्रप्रिया’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलले सिनेमा ‘किस्मत’मा पहिलो पटक स्क्रिन शेयर गरेका थिए । रेखा थापाको निर्माण रहेको ‘किस्मत’ हिट सावित भयो ।

पहिलो सिनेमाबाटै अभिनय क्षमता देखाएर चर्चामा आएका आर्यन सिग्देलको करियरले उचाई लिँदै गयो । त्यसपछी छवीराज ओझा र रेखासँगको सहकार्यमा आर्यनले ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’मा अभिनय गरे  । उतिबेला छवीक्याम्पबाट मात्रै यी दुई सुपरस्टारले ३ सिनेमामा काम गरेका थिए । जुन नेपाली सिनेमा क्षेत्रको सम्झिन लायक सिनेमाको सुचीमा अटाउछन् ।

‘कसले चोर्यो मेरो मन’ पछी रेखा र आर्यनको विचमा दरार आयो । लगातार ३ सिनेमा हिट दिएर सबैको मनमा बस्न सफल यो जोडीलाई दर्शकले ठ्याक्कै ८ वर्ष पछी कार्तिक २ मा एकै पर्दामा देख्न पाउनेछन् । यी दुई हिट जोडीको पहिलो अंश उत्साहजनक रह्यो । अब मध्यान्तर पछीको बाँकी अंश ‘रुद्रप्रिया’बाट सुरु हुँदैछ ।

सिनेमाको फस्टलूक पोस्टर, चिरबिर चिरबिर चाँचरी (गीत), कलरफुल ट्रेलरले रेखा र आर्यनको पहिलो अंशको सफलतालाई आत्मसात गर्ने पूर्वानुमान लगाउन सकिन्छ । रिलिजको लागि २ साता बढी समय छ । तर, सिनेमाका मुख्य कलाकारद्वय रेखा र आर्यन उति साह्रो प्रचारमा उत्रिएका छैनन् ।

रेखा र आर्यनको स्टारडमले दर्शक हलसम्म आउने कुरामा दुई मत छैन । तर, पनि रिलिजको मुखमा सिनेमाको प्रचारमा कलाकार नआउँदा सिनेवृत अहिले रनभुलमा परेको छ । मिडियाले ‘रुद्रप्रिया’लाई प्रतिक्षित सिनेमाको सुचीमा राखेको छ । रमेश एमके पौडेलको लगानी रहेको सिनेमालाई सुदीप बबी भुपाल सिंहले निर्देशन गरेका हुन् ।

रेखा फिल्मसको व्यानरमा निर्माण भएको यस सिनेमाकी प्रस्तुतकर्ता रेखा स्वयम् हुन् । सिनेमाको निर्मातामा सरस्वती थापा र आर्यन फिल्मस पनि रहेका छन् । सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको सिनेमामा राजन इशानको पनि मुख्य भूमिका छ ।