आलियाको स्टारडम

आलियाको स्टारडम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा यो दोस्रो पटक भएको, नारीप्रधान सिनेमाले सय करोड अर्थात १ अर्व बढी कलेक्सन गरेको । यसअघि २०१५ मा रिलिज भएको कंगना रनाउत अभिनित सिनेमा ‘तनु वेड्स मनु रिटन्र्स’ले यो सफलता हाँसिल गरेको थियो । यसपटक आलिया भट्टको ‘राजी’ले १७ दिन मै यो रेकर्ड सेट गर्न सफल भएको छ ।

सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’बाट डेब्यु गरेकी आलियाले आफुलाई अभिनयसँगै बक्स अफिसमा पनि प्रभावशाली बनाएकी छन् । रोचक कुरा त यो छ ‘तनु वेड्स मनु रिटन्र्स’ सिक्वेल थियो । अघिल्लो सिनेमा ‘तनु वेड्स मनु’को सफलताले गर्दा सिक्वेल आफैमा ब्राण्ड थियो । जसका गीत/संगीतले पनि बजार पिटेका थिए । तर ‘राजी’ कुनै सिनेमाको फ्रेञ्चाइज थिएन । नत यसमा कुनै बजार पिटेका गीत नै थिए । समिक्षक र दर्शकबाट उम्दा प्रतिक्रिया बटुलिरहेको ‘राजी’ आलियाको सर्वाधिक कमाउने सिनेमा बन्ने रफ्तारमा छ ।

‘राजी’ भन्दा अगाडी आलियाका ‘२ स्टेट’ र ‘बद्रीनाथकी दुल्हनिया’ सय करोड क्लबमा समावेश भैसकेका छन् । ‘२ स्टेट’ले १०२.१३ करोड र ‘बद्रिनाथकी दुल्हनिया’ले ११६.६८ करोड कमाइ गरेका थिए । ४० करोड बजेटमा निर्मित ‘राजी’ले तेस्रो विकेन्डसम्म १०२.५० करोडको आँकडा पार गरिसकेको छ । अब यो ‘बद्रिनाथकी दुल्हनिया’भन्दा १४ करोड मात्र पछाडी छ । यहाँबाट अरु १५ करोड कमाउन सके ‘राजी’ नै आलियाको सर्वाधिक ग्रसर बन्नेछ ।