पुष्प, साम्राज्ञी र रेबिका स्टारर सिनेमा ‘मारुनी’को शुभमुहुर्त

पुष्प, साम्राज्ञी र रेबिका स्टारर सिनेमा ‘मारुनी’को शुभमुहुर्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागूनको १३ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा ‘मारुनी’को शुभमुहुर्त गरिएको छ । आज बिहान काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै यसको निर्माण टिमले शुभसाइत गरेको हो । सिनेमाको छायांकन भने १० दिनपछि सुरु हुनेछ । छायांकार संजय लामा अर्को सिनेमाको छायांकनमा व्यस्त भएकाले मारुनीको छायांकन केही ढिलो सुरु हुन लागेको हो ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतम प्रस्तुतकर्ता रहेको सिनेमालाई नवल नेपालले निर्देशन गर्दैछन् । अजय पोखरेल र राजा प्रधानको लगानी रहने सिनेमा मारुनीमा दर्शना केसी सह–निर्माताको रुपमा रहने छिन् । सिनेमामा नायक पुष्पल खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायिका रेविका गुरुङको मुख्य भूमिका रहनेछ । साथै सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । भने सिनेमामा बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको मुख्य भूमिका रहनेछ ।

मारुनीका मुख्य पात्र पुष्पल खड्का र नायिका रेविका गुरुङले पनि सिनेमाको कथावस्तु राम्रो रहेको सुनाए । कार्यक्रममा कृष्ण गौतमले क्ल्याप हानेका थिए भने साम्राज्ञी आफैले मुहुर्त सर्टको निर्देशन गरेकी थिइन् । सिनेमालाई आउँदो बर्षको भदौ १३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

शुभमुर्हत कार्यक्रममा बोल्दै निर्मात्री पूनम गौतमले भनिन्–‘हामी एउटा फरक कथामा सिनेमा निर्माण गर्दैछौ । दर्शकको मायाले यो सिनेमा सफल हुनेमा विश्वस्त छु ।’ निर्देशक नवल नेपालले सिनेमाले मनको कथा बोल्ने बताए । उनले सिनेमा हेरिसकेपछि दर्शकलाई सिनेमा कथा एकदमै नौलो लाग्ने बताए ।

सिनेमाकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि कथा मनपरेपछि आफू काम गर्नका लागि उत्साहित भएको बताइन् । उनले भनिन्–‘म पहिलो पटक कुनै सिनेमाको शुभसाइतमा मन्दिर आएकी हुँ । मन्दिर आएपछि अब आफ्ना सबै काम राम्रो हुन्छन् भन्ने लागेको छ । यो सिनेमा पनि राम्रो बन्नेछ, दर्शकलाई ढुक्क हुन आग्रह गर्दछु ।’