कुशे औंसीको पूर्वसन्धयामा रिलिज हुने ‘बा : एक योद्धा’को टिजर सार्वजनिक

कुशे औंसीको पूर्वसन्धयामा रिलिज हुने ‘बा : एक योद्धा’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । शुक्रबार निर्माण कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सिनेमाको मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको हो ।

‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा सिनेमाका मुख्य पात्र दिव्यदेव पन्त छन्, जसको जुत्तादेखि टाउकोसम्म रगतै रगत लत्पतिएको छ । यसले उनी ठूलै घटनाबाट फर्किएको देखाउँछ । उनको चालले उनको परिवारकै कुनै सदस्य मिसिङ भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

दिव्यदेव जब आफ्नो घर अगाडि देखिन्छन्, उनको दिमागमा विगतका सम्पूर्ण दृश्यहरू एकपछि अर्को गर्दै पल्टिन्छन् । जसले उनको सुन्दर परिवार देखाउँछ । त्यसपछि देखिन्छ परिवारमा आएको विपत्ति । बाबालाई बोलाउँदै कुद्दै गरेकी छोरी र परिवारका अन्य सदस्य, गाउँले आत्तिँदै कुदेको दृश्यले परिवारमा घटेको ठूलो महाविपत्ति देखाउँछ ।

त्यही बीचमा आउने दृश्यमा डाइलग छ, ‘आज बाउको मुख हेर्ने दिन । तर एउटा बाले आफ्नो छोराको मुख हेर्न पाएन ।’ यही बेला दिव्यदेव एउटा गाडीमा कतै गइरहेको दृश्य देखिन्छ । अनि आमा छोरी झरना थापा र सुहाना थापा रोइरहेको दृश्यले एउटा सुन्दर परिवार कसरी तहसनहस भएको छ भन्ने देखाएको छ । तर, त्यसको कारण के हो भन्ने खुलाइएको छैन् ।

पूर्ण पारिवारिक कथा देखाउन सफल टिजरले परिवारको इमोस्नल कथा देखाएको छ । अचानक घट्ने घटनाले कसरी परिवार तहसनहस हुन्छ, सिनेमाले देखाउने टिजरले प्रस्ट पारेको छ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो ।

सिनेमामा दिव्यदेव, झरना र सुहानासहित माओत्से गुरुङ, अनिल बुढाथोकी सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र सवी थापा मुख्य भूमिकामा छन् । हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमा ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्धयामा रिलिज हुनेछ । नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्सालको ‘बाः एक योद्धा’ डेव्यु निर्देशन हो ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका हुन् । सिनेमाका निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायाकंन रहेको सिनेमाको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । यो सिनेमालाई कुवेर सिने डिस्ट्रिब्युसनले देशव्यापी वितरण गर्नेछ ।