भारतीय विमानस्थलमा नाजिरमाथि केरकार भएपछि नेपाल सरकारलाई प्रश्न ?

भारतीय विमानस्थलमा नाजिरमाथि केरकार भएपछि नेपाल सरकारलाई प्रश्न ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भारतीय विमानस्थलमा अभिनेता नाजिर हुसेनले आफ्नो नामकै कारण दोस्रो पटक अनावश्यक सोधपुछमा परेको गुनासो गरेका छन् । बिहीबार फेसबुकमा एक पोस्ट लेख्दै भारतमा आफू अभिनीत सिनेमा ‘गुन्यो चोलो’को विशेष प्रदर्शनीमा सहभागी भएर नेपाल फर्किने क्रममा विमानस्थलका सुरक्षाकर्मीले आफूलाई छुट्टै कक्षमा लगेर सोधपुछ गरेको उनले बताएका हुन् ।

आफूलाई भने ‘नेपाल किन जान लागेको ?’ र ‘कति पैसा छ ?’ भन्दै प्रश्न गरिएको उनले बताएका छन् । सोधपुछको कारणबारे जिज्ञासा राख्दा सुरक्षाकर्मीले ‘केही पनि होइन’ भन्दै स्पष्ट जवाफ नदिएको उनको भनाई छ ।

उनले अगाडि लेखेका छन्, ‘मेरो पूरा नाम मोहमद नाजिर हुसेन । यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छु, अनि विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो । यदि होइन भने मैले कारण थाहा पाउनुपर्छ ।’

उनका अनुसार आफूसँगै नेपाल फर्किएका ‘गुन्यो चोलो’का निर्देशक समुन्द्र भट्ट र जनकदीप पराजुलीसँग कुनै सोधपुछ गरिएको थिएन । पहिलो पटक आफूमाथि भारतीय विमानस्थलमा सोधपुछ गर्दा सामान्यजस्तो लागेको भएपनि दोस्रो पटक ठिक नलागेको उनले बताए ।

उनले ‘मलाई मद्दत गर्नुहोस्, म कारण जान्न चाहन्छु’ भन्दै ह्यासट्यागमार्फत नेपालस्थित भारतीय दूतावास, नेपाल सरकार र चलचित्र विकास बोर्डलाई प्रश्न समेत गरेका छन् । उनको उक्त पोस्टमा धेरैले यो गम्भीर विषय भएकाले सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताएका छन् । रंगकर्मी सुनिल पोखरेलले समेत ‘प्रश्न उठाउन नछाड्नु’ भन्दै कमेन्ट गरेका छन् ।