बाबु-छोरीको सम्बन्धको कथा ‘हली’को ट्रेलर सार्वजनिक

बाबु-छोरीको सम्बन्धको कथा ‘हली’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले झन्डै तीन मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याएको हो । ट्रेलरले छाउपडी प्रथाका कारण महिलाहरूले भोग्नुपर्ने समस्यालाई केन्द्रमा राख्दै बाबु-छोरीको सम्बन्धको कथा पेस गरेको छ ।

एक युवतीलाई पहिलो पटक महिनावारी भएपछि छाउगोठमा राखिएको हुन्छ । त्यही बेला उनको परीक्षा पर्छ । तर, सामाजिक अन्धविश्वासका कारण विद्यालयले उनलाई परीक्षा दिनबाट वञ्चित गर्छ । त्यसपछि छोरीलाई परीक्षा दिलाउन बाबुले गरेको संघर्षलाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ । हलीप्रति समाजको व्यवहारलाई पनि ट्रेलरमा देखाउन खोजिएको छ ।

निर्देशक प्रतीकले ट्रेलर सार्वजनिक कार्यक्रममा छाउपडी प्रथालाई निर्मूल पार्ने उद्देश्यले सिनेमा निर्माण गरिएको बताए । उनले भने, ‘अझै पनि नेपालका केही ठाउँमा महिलाहरूलाई महिनावारी हुँदा छाउगोठमा राख्ने गरिन्छ । त्यहीँ कथालाई हामीले सिनेमामा उठाएका हौँ । चेतनाको दायरा फराकिलो भयो भने पढाइमा पिएचडी गर्नै पर्दैन भन्ने सन्देश सिनेमाले दिन्छ ।’

आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडी, ओम प्रतीकलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । सिनेमालाई पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेका हुन् । यसमा राहुल राईको छायांकन तथा रामप्रसाद चौधरीको सम्पादन रहेको छ ।