द सिनेमा टाइम्स, काठमाडौं । गत साउन १ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘गौँथली’को पहिलो हप्ताको व्यापार उत्साहजनक देखियो । सुरुवाती ओपनिङ औसत भएपनि दर्शकीय प्रतिक्रियाका कारण मंगलबारबाट सिनेमाले व्यापारिक गति समातेको थियो । मंगलबार, बुधबार र बिहीबार ‘हाफ टिकट डे’मा देशव्यापी ८० प्रतिशत हाराहारी अकुपेन्सी हासिल गरेको सिनेमाले त्यसयता दर्शकको राम्रो साथ पाइरहेको छ ।
आज साउन ८ गतेबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको सिनेमाले पहिलो साताभन्दा आक्रामक व्यापार गर्ने संकेत देखिएको छ । सिनेमालाई शोपनि अघिल्लो साताभन्दा करिब दोब्बर बढी छ । सिनेमाले प्रदर्शनको पहिलो दिन १ सय २० हाराहारी शो पाएको थियो । दोस्रो साताको शुक्रबार सिनेमाको देशव्यापी शो साढे २ सयभन्दा बढी रहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।
निर्माण पक्षले सिनेमाको पहिलो साताको व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन् । चलचित्र विकास बोर्डले हरेक सोमबार नियमित बक्सअफिस विवरण सार्वजनिक गर्ने भएकाले ‘गौँथली’का निर्माता पनि त्यसैको प्रतीक्षामा छन् । यद्यपि, सिनेमाले बिहीबारसम्म ३ करोडभन्दा बढी कमाइ गरिसकेको छ ।
यो सिनेमा हेर्ने दर्शक पुरुषभन्दा महिला बढी छन् । वितरक श्रेष्ठका अनुसार हलमा ८० प्रतिशतसम्म महिला छन् । एउटै परिवारका सबै महिला आएर समेत सिनेमा हेरिरहेको उनको दाबी छ । उनले भने, ‘हलमा महिलाहरूको यो किसिमको उपस्थिति यसअघि देखिएको थिएन । सासु-बहारीदेखि आमा-छोरीसम्म एकसाथ सिनेमा हेर्न आइरहनुभएको छ ।’
डाक्टर भोला रिजालका छोरा डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको सिनेमामा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
सिनेमाले शिक्षाको महत्त्व दर्शाउँदै श्रीमान्-श्रीमतीको सम्बन्धको कथा ममस्पर्शी ढंगले देखाएको छ । जसलाई दर्शकले रुचाएका हुन् ।


प्रतिक्रिया