‘जात्रै जात्रा’को ‘माया पिरीम’मा करिष्मा, निश्चल र साराको छमछमी

‘जात्रै जात्रा’को ‘माया पिरीम’मा करिष्मा, निश्चल र साराको छमछमी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दुई वर्ष पहिलेको सुपरहिट सिनेमा ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । केही समय पहिले टिजर सार्वजनिक गरेका सिनेमा निर्माण टिमले आइताबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, करिष्मा मानन्धर, निश्चल बस्नेत, वर्षा राउत, सारा सिर्पालीलाई फिचर्ड गरिएको छ ।

विहेको सेटमा खिचिएको गीतमा कृष्ण भारद्धाजको संगीत, लेखु सहयात्रीको शब्द तथा निशान भट्टराई र मनिषा पोखरेलको स्वर छ । सार्वजनिक गीतको भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । षट्कोण आर्टको व्यानरमा निर्माण भएको सिनेमालाई ‘जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । निर्देशक भट्टराईका अनुसार ‘जात्रा’को कथा जहाँबाट सकिएको थियो, त्यहीबाट ‘जात्रै जात्रा’को नयाँ कथाको सुरुवात हुनेछ ।

रविन्द्र सिंह बानिया कार्यकारी निर्माता रहेको सिनेमा ‘जात्रै जात्रा’मा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ । यो सिनेमा आगामी जेष्ठ ३ गतेबाट रिलिज हुनेछ । तर पहिले यो सिनेमा फागुन १७ गतेबाट रिलिज हुने तयारीमा थियो । सिनेमाको छायांकन चल्दै गर्दा मुख्य कलाकार विपिन कार्की बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि सिनेमाको छायांकन रोकिएको थियो । केही समय पहिले विपिन पुर्ण रुपमा सञ्चो भएर छायांकन सुरु भएपछि यो सिनेमाको नयाँ रिलिज मिती वैशाख २७ लाई तोकिएको थियो । त्यो मितीमा ठुलो बलिउड सिनेमा ‘स्टुडेन्ट अफ दि ईयर २’ रिलिज हुने भएपछि ‘जात्रै जात्रा’ एकसाता पर जेष्ठ ३ गते पुगेको हो ।

सिनेमामा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायांकन, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको छ ।