‘यात्रा’को गीत रिलिज : ‘डुलि डुलि’ मलिका खोज्दै सलिनमान

‘यात्रा’को गीत रिलिज : ‘डुलि डुलि’ मलिका खोज्दै सलिनमान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट शाक्यको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लग’को नयाँ गीत सार्वजनिक गरिएको छ । सिनेमामा समावेश ‘डुली डुली’ बोलको गीत बिहिबार सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा कोबिद बज्र र प्रतिक पौडेलको संगीत, दिभेस उप्रेती र प्रतिक पौडेलको शब्द तथा मेलिना राईको स्वर छ । उक्त गीतमा सिनेमाका मुख्य कलाकार सलिनमान बनियाँ, मलिका महत, रेयर राई, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, विशाल कटुवाललाई फिचर्ड गरिएको छ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् ।

यात्रामा सलिनमान बनियाँ, डेब्यु गर्ल मलिका महत, प्रेक्षा बज्राचार्य, रेयर राई, जान्वी बस्नेत, विशाल कटुवालका अलवा सलोन बस्नेत, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

यसका साथै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । सिनेमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सिनेमामा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ ।