‘लभ स्टेशन’ गीत रिलिज : जसितासँगै रोए प्रदीप (भिडियो)

‘लभ स्टेशन’ गीत रिलिज : जसितासँगै रोए प्रदीप (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट सिनेमा हलमा प्रदर्शनमा आएको सिनेमा ‘लभ स्टेसन’ को नयाँ गीत युट्युब रिलिज गरिएको छ । सिनेमाको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत लुकाएर राखेको थियो । यो गीतलाई सिनेमामा कथावाचनको रुपमा प्रयोग गरिएको छ । डेभिड शंकरको संगीत तथा स्वर रहेको गीतमा दीपक शर्मा र उषा शेरचनको शब्द रचना छ ।

गीतको भिडियोमा सिनेमामा नेगेटिभ रोलमा रहेको प्रकाश शाहसँग अभिनेत्री जसिता गुरुङलाई लगनगाँठो कस्दै देख्न सकिन्छ । दुईको विवाहमा अभिनेता प्रदीप खड्का गीतमार्फत् मनको बेदना पोख्दै देखिएका छन् । यो सिनेमामा उनी गायकको भूमिकामा छन् । युट्युबमा सार्वजनिक भएसँगै यस गीतलाई निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

उज्ज्वल घिमिरे सिनेमाका निर्देशक हुन् । ‘लभ स्टेशन’ सांगीतिक प्रेमकथामा आधारित पारिवारिक सिनेमा हो । प्रदीप, जसिता र प्रकाशका अलावा सिनेमामा रमेश बुढाथोकी, रश्मी पाण्डे, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । सिनेमाको छायांकन आलोक शुक्लाले गरेका हुन् ।