विदेश मोहको वरिपरी घुमेको ‘दाल भात तरकारी’को ट्रेलर रिलिज

विदेश मोहको वरिपरी घुमेको ‘दाल भात तरकारी’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मह संचारको ब्यानरमा निर्माण भएको मल्टिस्टारर सिनेमा ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ’भिजिट भिषामा’ र ’दाल भात तरकारी’ बोलको गीतका कारण चर्चामा रहेको सिनेमाको ट्रेलर कमेडीले भरिएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरु विदेश मोहलाई विशेष स्थान दिइएको छ । हरिवंश आचार्य र निरुता सिंहलाई केन्द्रमा राखेर ट्रेलर तयार पारिएको छ ।

पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ । अभिनेत्री प्रियंका कार्की भने सिनमाको गीतमा आइटम गीतमा ठुम्का लगाउँदै देखिएकी छन् । सिनेमाका सबै कलाकारलाई स्थान दिन खोज्दा ट्रेलर केही फितलो लाग्छ ।

कुनै पनि हालतमा अमेरिका जाने अठोट बोकेको एक परिवारको कथामा सिनेमा आधारित रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । बैशाख २० गतेबाट रिलिज हुने सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । सिनेमाको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो सिनेमालाई सुदन केसीले निर्देशन गरेका हुन् ।

यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई दिर्घ गुरुङले खिचेका हुन् । सिनेमामा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेल नरेन्द्र कंसाकार लगायतको लगानी छ । प्रविन सिंह र कविराज गहतराजको सिनेमाका गीतमा कोरियोग्राफी गरेका हुन् ।