सौगात र सृष्टि स्टारर सिनेमा ‘मासु भात’को टिजर रिलिज (भिडियो)

सौगात र सृष्टि स्टारर सिनेमा ‘मासु भात’को टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर सिनेमा ‘मासु भात’ को टिजर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक हुँदै आएका सिनेमाका टिजरभन्दा यो सिनेमाको टिजर केही फरक लाग्छ । सौगातलाई कैदी र सृष्टिलाई पुलिसको भूमिकामा देखाइएको टिजरमा साहित्यकार कुमार नगरकोटीले वाचन गरेको मर्मस्पर्शी कविता पृष्ठभूमीमा सुन्न सकिन्छ ।

१ मिनेट १५ सेकेण्ड छोटो टिजरमा जेलभित्र सौगात मौन देखिएका छन् । भने, पुलिसको बर्दीमा सृष्टि पत्रमा लेखिएका कुराहरु पढ्दै देखिएकी छन् । दुईबाहेक टिजरमा अरुलाई स्थान दिइएको छैन । न त कसैले संवाद नै बोलेका छन् । टिजरले सिनेमाप्रति दर्शकमा उत्सुकता जगाउने देखिन्छ । सञ्जिव कुमार न्यौपाने निर्देशित यो सिनेमाको प्रदर्शन मिति भने पक्का गरिएको छैन ।

दुर्गम गाउँकी बालिकालाई मानव तस्करले वेश्यावृत्तिमा लगाएको र पछि बालिकाको अंग बेच्ने प्रयास भएपछि त्यस बालिकाले गर्ने संघर्षसँगै बेपत्ता बहिनीको खोजीमा रहेको दाईको भुक्तभोगाइमा ‘मासु भात’ आधारित छ । बेचिएकी बहिनीको दाईको भूमिका सौगातले निभाएका छन् । उनी यस सिनेमाबाट पहिलो पटक निर्माताको रुपमा पनि आउँदैछन् ।

सिनेमाको कथा लेखक न्यौपाने स्वयंले लेखेका हुन् । सौगात र सृष्टिका अलावा सिनेमामा पुर्णिमा तामाङ, रेअर राईलगायतका कलाकारहरुको पनि अभिनय छ । यसअघि सिनेमा ’लालपूर्जा’ मा सौगात र सृष्टिले काम गरेको भए पनि स्क्रिन सेयर भने गर्न पाएका थिएनन् । ‘मासु भात’ मा उनीहरुको जोडी बाँधिएको छ । यसको पटकथा प्रशान्त रसाइलीले लेखेका हुन् ।