मजदुर दिवसमा गीत रिलिजसँगै ‘पसिना’ निर्माण टिमले निकाल्यो र्याली

मजदुर दिवसमा गीत रिलिजसँगै ‘पसिना’ निर्माण टिमले निकाल्यो र्याली

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २७ गतेबाट पर्दशनको तयारीमा रहेको सिनेमा ‘पसिना’ निर्माण टिमले मजदुर दिवसको अवसर पारेर राजधानीमा र्याली निकालेको छ । ‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारासहित सिनेमा निर्माण युनिटले माइतीघर मण्डलाबाट र्याली निकालेको थियो । उक्त र्यालीमा सिनेमाका निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए । र्यालीमा सिनेमाका मुख्य कलाकारहरु भने सहभागी भएका थिएनन् ।

यस्तै मजदुर दिवसकै अवसर पारेर सिनेमा समावेश एक गीत समेत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको संगीत, नारद रिजालको शब्द रहेको गीतमा संगीतकार सिवाकोटीको स्वर छ । सार्वजनिक ‘हावा चल्यो सिरिरि’ बोलको गीतमा सिनेमा मुख्य पात्र गौरव पहाडी, अनु शाह, रविन्द्र प्रताप सेन, शान्ति गिरी, सुरजनी केसी लगायतका अन्य कलाकारलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतको भिडियोमा शिव विक र राजीव समरको कोरियोग्राफी रहेको छ ।

सिनेमाका निर्देशक आर बि खत्री ‘शरद’ले सिनेमाले मजदुरहरुको हकहितका लागि आवाज उठाउने भएकाले मजदुर दिवसको अवसरमा र्याली आयोजना गरिएको बताए । मजदुरहरुको समस्या समाधान नभएसम्म देश समृद्ध नहुने पनि निर्देशक शरदको भनाई छ । र्यालीमा सहभागिताका लागि सिनेमाका सम्पुर्ण कलाकारहरुलाई आग्रह गरिएको भएपनि उपस्थित नभएकोमा निर्माता शान्ता ढकालले गुनासो गरिन् । उनी आफूले पसिना बगाएर बनाएको सिनेमा भएकाले आफैंले प्रचार दौडिरहेको बताइन् ।