द सिनेमा टाइम्स, काठमाडौं – इद उल फितरको अवसरमा बुधबारबाट प्रदर्शनमा आउन लागेको बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कटरीना कैफको प्रमुख भूमिका रहेको सिनेमा ‘भारत’ नेपालमा भने शुक्रबार मात्रैप्रदर्शनमा आउने चर्चा थियो । बोर्ड पनिले शुक्रबार मात्र रिलिज गर्न दिने बताउँदै आएको थियो । तर, नेपाल वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार नै ‘भारत’ नेपाल रिलिज गर्न पाउनु पर्ने भन्दै बोर्डको निर्णयविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा रिट दायर गरेको थियो ।जिल्ला अदालत काठमाण्डौंले बलिउड सुपरस्टार सलमान खान स्टारर सिनेमा ‘भारत’लाई नेपालमा बुधबार नै रिलिज गर्न चलचित्र विकास बोर्डको नाममा अन्तरिम आदेश जारी गरेको छ । अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । अदालतको आदेशपछि अब बुधबार नै भारत नेपालमा रिलिज हुने भएको छ । यसअघि सिनेमा ‘कलंक’ लाई भारतमा प्रदर्शनमा आएकै दिन अर्थात् बुधबार नेपालमा पनि रिलिज गर्न चलचित्र विकास बोर्डले रोकेको थियो ।