‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’को तयारी तीब्र

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’को तयारी तीब्र

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर २७ असारमा राष्ट्रपति भवन सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ समारोह आयोजना गर्ने भएको छ । उक्त पुरस्कार समारोह भव्यरुपमा आयोजनाको लागि अहिले विभिन्न तयारी भइरहेको छ ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय सिनेमा पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटक आयोजना हुन लागेको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । यसपटक ‘राष्ट्रिय सिनेमा पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको ‘राष्ट्रिय सिनेमा पुरस्कार तथा दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । तीन वर्षकै नेपाली सिनेमा हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेका छन् ।राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको छ । २०७३, ०७४ र ०७५ सालमा यो पुरस्कारबाट पुरस्कृत हुनेहरुलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिने विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए । उक्त समारोहमा तीन वर्षकै दीर्घ साधना सम्मान पनि प्रदान गरिने विकास बोर्डले जनाएको छ ।

पुरस्कारमा नगद पनि दिईने प्रचलन रहेकाले पुरस्कृतलाई उहाँहरुको सम्मानका खातिर हरेक विधामा २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको बोर्ड अध्यक्ष भट्टराईले जानकारी गराउनु भएको छ । अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको छ ।यस्तै, चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर यही २०७६, असार १६ मा नेपाली सिनेमा क्षेत्रमा विभिन्न विधामा सम्मानित हुनुहुने सबै विशिष्ट सिनेकर्मी, सर्जक तथा संस्थाहरुलाई सम्मान स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय विकास बोर्डले गरेको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई सिनेमामय बनाउन अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न अभिनेता अभिनेत्रीहरुले करिब १२ मिनटको नृत्य प्रस्तुत गर्नेछन् । जसका लागि एक साताबाट नृत्य अभ्यास भईरहेको छ । पहिलो सिनेमा आमादेखि अहिलेसम्मका सिनेमाका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नेछन् ।