द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘मास्टर्नी’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक १ मिनेट लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पारेको छ । आफ्नी छोरीका लागि एउटी आमाले गरेको संघर्षलाई टिजरमा चित्रण गरिएको छ । सिनेमामा प्रियंकाले आमाको भूमिकामा अभिनय गरेकी छन् ।
सार्वजनिक टिजरको सुरुवात जंगलमा एक महिलाको हत्या भएको दृश्यबाट हुन्छ । लगत्तै प्रियंकाको ‘भ्वाइस ओभर’ सुन्न सकिन्छ, जहाँ उनले आफ्नो लागि छोरीको सुरक्षा नै सबैभन्दा ठूलो कुरा रहेको बताएकी छन् । यसपछि टिजरमा देखिने आमा-छोरीको भावनात्मक सम्बन्ध, प्रहरी अनुसन्धान र एसिड आक्रमणजस्ता दृश्यले सिनेमाको कथा रहस्यमय हत्यामा आधारित रहेको संकेत दिन्छ ।
शुभेन्द्र घोषको निर्देशनमा निर्माण भएको सिनेमामा प्रियंकासहित आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, दीपाश्री निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ । आयंका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले सिनेमाको निर्माण गरेका हुन् ।
आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने सिनेमाको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार हुन् । प्रियंका स्वयंको कथा रहेको सिनेमाको पटकथा शान बस्नेतले लेखेका हुन् । संवाद भने प्रियंका र शानको हो । युवराज इन्दोरियाको छायांकन रहेको सिनेमालाई राजा सिंह सिदुले सम्पादन गरेका छन् ।


प्रतिक्रिया