द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हली’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । गत शनिबार काठमाडौँको कमलपोखरीस्थित बिग भुमिजमा आयोजित विशेष प्रदर्शनीमा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरूले सिनेमाको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका थिए ।
यो सिनेमाले समाजमा गहिरो सन्देश दिने प्रतिक्रिया अधिकांश दर्शकको थियो । छाउपडी प्रथाजस्तो संवेदनशील विषयलाई मजबुत कथावस्तुमार्फत पर्दामा उतारिएको भन्दै दर्शकहरूले निर्माता तथा निर्देशकलाई धन्यवाद पनि दिए । दर्शकको अनपेक्षित माया र सकारात्मक प्रतिक्रियाबाट निर्माण टिम उत्साहित देखिएको छ । निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले विशेष शोको प्रतिक्रियाले थप हौसला मिलेको बताए ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडी, कमल गाउँलेलगायतका कलाकारहरूले अभिनय गरेका छन् । निर्देशक प्रतीक स्वयंको पनि सिनेमामा मुख्य भूमिका रहेको छ । सिनेमाको एक गीतमा दीपाश्री निरौला, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन् ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा अर्जुन भुसाल र सह-निर्मातामा नम्रता भण्डारी छिन् । सिनेमामा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।



प्रतिक्रिया