घरेलु बक्सअफिसमा ‘गौँथली’ले १० दिने कमाई साढे ७ करोड नजिक

घरेलु बक्सअफिसमा ‘गौँथली’ले १० दिने कमाई साढे ७ करोड नजिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत साउन १ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘गौँथली’ले घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको सिनेमाले १० दिनमा साढे ७ करोड नजिक व्यापार गरेको तथ्यांक चलचित्र विकास बोर्डले सार्वजनिक गरेको हो । सिनेमाको यो कमाइ हिजो आइतबार अर्थात् १० साउनसम्मको हो ।

यो १० दिनको अवधिमा सिनेमाका २ लाख ६० हजार २५२ वटा टिकट बिक्री भएका छन् । योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो सिनेमा बनेको छ । पहिलो स्थानमा ‘जात्रा’ समूहको सिनेमा ‘लालीबजार’ छ, जसले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो । यो सिनेमाको रेकर्ड ‘गौँथली’ले यो हप्ता तोड्ने देखिएको छ ।

यो सिनेमाले प्रदर्शनयताकै सबैभन्दा उच्च व्यापार गत शनिबार गरेको थियो । त्यसदिन सिनेमाको कमाइ १ करोड ६५ लाखमाथि थियो । यो यस वर्ष नेपाली सिनेमाले गरेको सर्वाधिक एकदिने कमाइ हो । हिजो आइतबार पनि सिनेमाले लगभग डेढ करोडको व्यापार गर्‍यो । सिनेमाको व्यापारिक रफ्तार हेर्दा यो हप्ता १० करोडको आँकडा पार हुने देखिन्छ ।

चलचित्र विकास बोर्डले ‘गौँथली’सहित अन्य दुई सिनेमा ‘रोल नं. १’ र ‘भागदौड’को पनि कमाइ विवरण सार्वजनिक गरेको छ । जसमा ‘रोल नं. १’ले १० साउनसम्म ७१ हजार ४७३ वटा टिकट बिक्री गर्दै १ करोड ७८ लाख ५१ हजार ६९८ रुपैयाँ ग्रस कमाइ गरेको देखिन्छ । ‘भागदौड’ले सोही अवधिसम्म १ लाख १९५ रुपैयाँ कमाइ गरेको छ । यो यस वर्षको सबैभन्दा कम कमाउने सिनेमा हो ।