युट्युबमा धुर्मुस-सुन्तलीको कमब्याकलाई स्वागत, यस्तो छ प्रतिक्रिया

युट्युबमा धुर्मुस-सुन्तलीको कमब्याकलाई स्वागत, यस्तो छ प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कलाकार हुँदै सामाजिक अभियन्ताको पाइला अगाडी बढाएका धुर्मुस-सुन्तलीले सारा नेपालीको मन जितेका छन् । चाहे त्यो कलाकारिताबाट होस् या समाजसेवा ।


अहिले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेको यो दौतरीले लामो समय पश्चात पुन: कलाकारिताको ढोका ढकढक्याउदै छ ।

एकातिर रंगशाला निर्माणको चटारो अर्को तिर आफैले निर्माण तथा अभिनय गरेको सिनेमा ‘सेन्टी भाइरस’को प्रचार । विहिबार प्रचार सामाग्री स्वरुप सिनेमाको पहिलो गीत ‘फनफनी’ सार्वजनिक गरियो ।

पत्रकारलाई कार्यक्रममा धुर्मुस-सुन्तलीको प्रतिक्षा थियो । तर, सुन्तली मात्र देखिइन । र उनले भनिन् ‘धुर्मुस उता रंगशालाको काममा दिनरात खटिनु भएको छ । त्यसैले काम बाँडेका हौँ ।’

समाजसेवामा लागेपछि यो जोडीले कला यात्राबाट केहि समय विश्राम थियो । त्यसैले पनि यो जोडीको काम हेर्न सबै आतुर थिए । कार्यक्रममा गीत बज्दै गर्दा ठुलो हुटिङ पनि आयो ।

सोहि दिन युट्युबमा गीत पनि आयो । तीन दिनको अन्तरालमा गीत हेर्नेको संख्या साढे ६ लाख बढी छ । सायद, टिमले सोचेजस्तो भ्युज आएन होला, तर कमेन्ट बक्समा दर्शकले यो जोडीलाई राम्रो स्वागत गरेका छन् । गीत लाइक गर्नेको अनुपात पनि ९७.६६ प्रतिशत छ ।

कमेन्ट बक्समा गीतको लागि केहि असन्तुष्टि व्यक्त भएपनि धुर्मुस-सुन्तलीको नाममा कुनै नकारात्मक कमेन्ट देखिदैनन ।

सिनेमाको कथा कुमार कट्टेल र दीपक आचार्यको हो । यहि टिमको हास्य टेलीशृंखला ‘सक्किगोनी’ युट्युबमा लोकप्रिय छ । एउटै युट्युब च्यानलबाट सार्वजनिक भएका कारण ‘सेन्टी भाइरस’ गीत युट्युब ट्रेन्डिङमा उक्लिन सकेको छैन । युट्युबले एक पटकमा एउटा च्यानलबाट एक मात्र भिडियो ट्रेन्डिङ आउने सिस्टम बनाएको छ ।

शंकर थापा स्माइलले संगीत भरेको गीतको अडियो उत्कृष्ट छ । तर, भिडियोमा केहि कमि कमजोरी देखिएका छन् । मोडल अञ्जली अधिकारीको नृत्यलाई राम्रो भनिरहँदा उनको शारीरिक बनोट सुधार्न दर्शकले सुझाव दिएका छन् ।

डिपी खनालको शब्द रचनामा तयार गीतमा कालीप्रसाद बाँस्कोटा र मेलिना राईको स्वर छ । भने, शंकर बिसीले भिडियो कोरियोग्राफी गरेका छन् । गीतमा अञ्जलीसँगै दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङलगायतले पनि नृत्य पस्केका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् ।

फागुन ९ गते रिलिज हुने सिनेमामा राजनराज सिवाकोटी/शंकर थापा/कालीप्रसाद बाँस्कोटा/सुशान्त गौतमको सयुंक्त संगीत, शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।