‘दबंग’देखि ‘दबंग ३’सम्म सलमान, ननस्टप सय करोड क्लबको बादशाह

‘दबंग’देखि ‘दबंग ३’सम्म सलमान, ननस्टप सय करोड क्लबको बादशाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको पछिल्लो १० वर्ष अभिनेता सलमान खानको लागि फलदायी रह्यो । सलमानका रिलिज १६ सिनेमाले उनलाई बक्सअफिसको नम्बर १ बनाए ।

सन् २०१० मा रिलिज भएको ‘वीर’ बक्सअफिसमा चलेन । तर, यसै वर्ष रिलिज ‘दबंग’ले सलमानको सुनौलो दशकको सुरुवात गरिदियो । सय करोड क्लबमा इन्ट्री गर्ने यो नै सलमानको पहिलो सिनेमा हो । भने, समग्रमा सय करोड क्लबको तेस्रो सिनेमा थियो । १ सय ४५ करोड कमाएर ‘दबंग’ले तत्कालिन समयमा धमाका पिटेको थियो ।

२०११ मा सलमानका दुई सिनेमा ‘रेडी’ र ‘बडीगार्ड’ रिलिज भए । ‘रेडी’ले लाइफटाइम १ सय २० करोड कमाउँदा ‘बडीगार्ड’ले १ सय ४२ करोड छाप्यो ।

यतिञ्जेलसम्म सलमानले सय करोड क्लबको हिट मेसिन भनेर ट्याग पाइसकेका थिए । जुन, ट्यागमा अहिलेसम्म प्रश्न उठाउने ठाउँ छैन ।

२०१२ मा ‘एक था टाइगर’ र ‘दबंग २’ रिलिज भए । ‘एक था टाइगर’ले १ सय ९८ करोडको व्यापार गर्दै सलमानको करिअरकै सर्वाधिक कमाउने सिनेमा बन्यो । भने, ‘दबंग २’को व्यापार १ सय ५८ करोड पुग्यो । २०१३ मा सलमानका कुनै सिनेमा रिलिज भएनन् ।

२०१४ मा रिलिज भएको ‘जय हो’ले सय करोडको आँकडा पार गरेपनि सोचेजस्तो व्यापार भएन । यसले लाइफटाइम १ सय ११ करोड कमाउन सफल भयो । बरु यसै वर्ष रिलिज भएको ‘किक’ सलमानको पहिलो २ सय करोड कमाउने सिनेमा बन्यो । ‘किक’ले बक्सअफिसमा २ सय ३३ करोड छापेको थियो ।

२०१५ मा सलमानका ‘बजरंगी भाइजान’ र ‘प्रेम रतन धन पायो’ रिलिज भए । ३ सय २० करोड कमाएको ‘बजरंगी भाइजान’ले सलमानलाई ३ सय करोड क्लबमा इन्ट्री गरायो । यस्तै ‘प्रेम रतन धन पायो’ले २ सय ७ करोड कमायो ।

२०१६ मा रिलिज भएको ‘सुल्तान’ले ३ सय करोडको व्यापार गर्दै सलमानको करिअरमा ३ सय करोड क्लबमा इन्ट्री गर्ने दोस्रो सिनेमा बनिदियो ।

२०१७ मा रिलिज ‘ट्युबलाइट’ले सय करोड भन्दा माथिको व्यापार गरेपनि ठुलो लगानीको कारण हिटको ट्याग पाउन सकेन । सिनेमाले १ सय २१ करोड कमाएको थियो । वर्षको सुरुवात नराम्रो भएपनि अन्त्यमा ‘टाइगर जिन्दा हे’ले सलमानको साख जोगाइदियो । ३ सय ३९ करोड व्यापार गरेको ‘टाइगर जिन्दा हे’ उनको करिअरकै सर्वाधिक व्यापार गर्ने सिनेमा हो ।

यसले प्रदर्शनको तीन दिनमै सय करोड क्लबमा इन्ट्री मारेको थियो ।

२०१८ मा रिलिज ‘रेस ३’ले पनि सुरुवाती व्यापार राम्रो गर्यो । तर, पटकथामा सिनेमा चिप्लिदा लाइफटाइम १ सय ६९ करोड मात्र कमाउन सफल भयो ।

यस वर्ष सलमानका दुई सिनेमा रिलिज भैसकेका छन् । करिअरकै सर्वाधिक ठुलो ओपनिङ गरेको ‘भारत’ले लाइफटाइम २ सय ९ करोड कमायो । प्रदर्शनरत ‘दबंग ३’ले पाँचौं दिनमै सय करोड क्लबमा इन्ट्री मारिसकेको छ ।

१ सय २० करोडको व्यापार गरिसकेको ‘दबंग ३’ सलमानको करिअरको सय करोड क्लबको १५ औँ सिनेमा हो । बलिउडमा सलमान बाहेक अन्य अभिनेताका यति धेरै सिनेमाले लगातार सय करोडको यात्रा तय गर्न सकेका छैनन् ।