बलिउडकी भेट्रान डान्स कोरियोग्राफर सरोज खानको निधन

बलिउडकी भेट्रान डान्स कोरियोग्राफर सरोज खानको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडकी भेट्रान डान्स कोरियोग्राफर सरोज खानको निधन भएको छ । बान्द्रास्थित गुरु नानक अस्पतालमा शुक्रबार विहान ७१ वर्षिया डान्स डिभाले हृदयघातका कारण अन्तिम सास लिइन । सन् १९४८ मा बम्बेमा जन्मिएकी सरोजका एक छोरा र २ छोरी छन् ।

सास फेर्न अप्ठेरो भएपछी खानलाई २० जुनमा अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना हुनु भन्दा पहिला उनको कोरोना टेस्ट पनि गरिएको थियो । जो रिपोर्ट नेगेटिभ आएको थियो । पारिवारिक स्रोतले खानले बिस्तारै स्वास्थ्य लाभ लिइरहेको र छिट्टै डिस्चार्ज हुने खबर दिएको थियो । तर, विहिबार रातिदेखि उनको हालत थप बिग्रिएको थियो । र उनलाई बचाउन सकिएन ।

बलिउडकी ‘मास्टरजी’ उपनामले चिनिने सरोजले आफ्नो ४ दशक लामो करिअरमा २ हजार बढी गीतमा कोरियोग्राफी गरेकी थिइन् । कोरियोग्राफीबाटै उनले भारतमा सर्वाधिक राष्ट्रिय अवार्ड पनि हात पारेकी थिइन् ।

संजयलीला भन्सालीको सिनेमा ‘देवदास’मा समावेश ‘डोला रे डोला’ गीतबाट उनले पहिलो पल्ट राष्ट्रिय अवार्ड उचालेकी थिइन् । यस्तै सिनेमा ‘जब वी मेट’को ‘ए इश्क हाए’ र तामिल सिनेमा ‘श्रीनगरम’बाट पनि उनले राष्ट्रिय अवार्ड जितेकी थिइन् ।

यस्तै सिनेमा ‘गुरु’, ‘देवदास’, ‘हम दिल दे चुके सनम’, ‘खलनायक’, ‘बेटा’, ‘शैलाब’, ‘चालबाज’ र ‘तेजाव’बाट सरोजले ८ पटक फिल्म फेयर अवार्ड आफ्नो पोल्टामा पारेकी छन् । सरोजले अन्तिम पटक सिनेमा ‘कलंक’को ‘तबा हो गए’ गीतको कोरियोग्राफी गरेकी थिइन् । जुन सिनेमा २०१९ मा रिलिज भएको थियो ।