सुशान्तकी प्रेमिका रिया विरुद्ध केके सिंहले दिएको गम्भीर आरोपसहितको उजुरी – पूर्णपाठ

सुशान्तकी प्रेमिका रिया विरुद्ध केके सिंहले दिएको गम्भीर आरोपसहितको उजुरी – पूर्णपाठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरण नयाँ मोडमा पुगेको छ । सुशान्तको मृत्यु भएको झन्डै डेढ महिनापछि उनका पिता कृष्ण किशोर सिंह (के.के)ले पटनाको राजीवनगर पुलिस स्टेशनमा उजुरी दिएका छन् ।

उनले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनको परिवार विरुद्ध यो उजुरी दिएका हुन् । यो उजुरीपछि घटनाले नयाँ मोड लिएको हो । सुशान्तको आत्महत्यापछि अभिनेत्री कंगना रनाउतले बलिउडमा व्याप्त ‘नोपेटिज्म’को कारण उनले आत्महत्याको बाटो रोजेको र यस विषयमा अनुसन्धान हुनुपर्ने माग राखेकी थिइन् ।

‘नेपोटिज्म’को बहस चर्कदै गर्दा मुम्बई पुलिसले संकास्पद व्यक्तिहरुको छानविन गरेको थियो । तर, सुशान्त आत्महत्या प्रकरणको मुख्य जडसम्म पुग्न सकेन ।

थुप्रै गम्भीर आरोपसहित केके सिंहले रिया र उनको परिवार विरुद्ध उजुरी दिएपछि सबैको ध्यान ‘नेपोटिज्म’बाट रियातिर मोडिएको छ ।

के छ उजुरीमा ?

केके सिंहले रियासहित उनको परिवारका सदस्य इन्द्रजित चक्रवर्ती, सन्ध्या चक्रवर्ती साथीहरु स्यामियल मिरण्डा र श्रुती मोदी कुल पाँच जना विरुद्ध ‘धोका, बेइमानी, बन्धक बनाउने र आत्महत्या गर्न प्रेरित’ गरेको आरोपमा उजुरी दिएका हुन् । उनले १५ जुलाई साँझको ६.३० बजे यो उजुरी दर्ता गराएका थिए ।

उजुरीमा केके सिंहले भनेका छन्, ‘मेरो छोरा सुशान्त २०१९ मे महिनासम्म अभिनय दुनियाँको उचाईमा थियो । यस दौरान रिया चक्रवर्ती नामकी एक युवतीले उसको परिवार र साथीहरुसहित योजनावद्द रुपमा सुशान्तसँग घुलमिल बढाउन लागिन् । जहाँबाट सुशान्तको राम्रो सम्पर्कको फाइदा उठाउदै अभिनय जगतमा आफुलाई स्थापित गर्न सकियोस् । र सुशान्तको करोडौँ रुपैयाँ आफ्नो हात पार्न सकियोस ।

यस षडयन्त्रको बाटोहुँदै रिया र उनको परिवार इन्द्रजित चक्रवर्ती, सन्ध्या चक्रवर्ती र सेविक चक्रवर्ती मेरो छोराको नजिक भैसकेका थिए । यिनीहरुले मेरो छोराको हरेक काममा हस्तक्षेप गर्न लागे । यसै दौरान मेरो छोरा जुन घरमा बस्थ्यो, त्यो घरमा भूतप्रेत छ भनेर त्यहाँबाट निकालिदिए । यो कुराको प्रभाव मेरो छोराको दिमागमा पर्यो । त्यहाँबाट मेरो छोरालाई मुम्बई इयरपोर्टको नजिक एक रिसोर्टमा पुर्याइयो । जहाँ रिया र उनको परिवार धेरै दिनसम्म सुशान्तसँगै बसे ।

त्यसपछि मेरो छोरालाई सबैले पटक-पटक भन्न थाले, ‘तिमिलाई दिमागको समस्या छ । त्यसैले कुनै राम्रो अस्पतालमा उपचार गराउ ।’

यो कुरा थाहा पाएपछि मेरो छोरी सुशान्तलाई भेट्न मुम्बई पुगिन । र, उसलाई मुम्बईबाट फिर्ता बोलाउने कोशिस गरिन । तर, रिया र उसको परिवारले सुशान्त मुम्बई मै बस्नुपर्ने र त्यहि उपचार गर्नुपर्ने कुरामा दवाव बनाइरहे । र, सुशान्तलाई त्यहाँबाट फिर्ता हुन् दिएनन् ।’

केके सिंहले अगाडीको कुरा सविस्तार वर्णन गरेका छन्, ‘त्यसपछि उपचारको बहानामा रियाले सुशान्तलाई मुम्बईस्थित आफ्नो घरमा लिएर गईन । त्यहाँ सुशान्तलाई ओभरडोज औषधि खुवाइन । र, बाहिर सुशान्तलाई डेंगु भएको हल्ला फिजाइन ।’ केके सिंहको दावीका अनुसार सुशान्तलाई कहिले पनि डेंगु भएको थिएन ।

यो समयमा रिया र उनको परिवारले सुशान्तका हरेक चिज आफ्नो कब्जामा लिए । आफ्नो परिवारसँग सुशान्तको सम्पर्क बिस्तारै टुट्दै गयो । सुशान्तको फोन रिया र उसको परिवारले आफ्नो कब्जामा राख्ने गर्दथ्ये । सुशान्तलाई अफर आएका सिनेमामा रिया यस्तो शर्त राख्थिन, ‘सुशान्तको अपोजिट यदि मलाई मुख्य भूमिकामा लिइन्छ भने मात्र उसले यो सिनेमा गर्नेछ ।’

सुशान्तका विश्वासिला कर्मचारी बदलेर रियाले आफ्ना नजिकका व्यक्तिहरुलाई काममा लगाउदै गईन । सबै क्रेडिड कार्ड, बैंक अकाउन्ट रिया र उनको परिवारको कब्जामा थिए । केके सिंहले अगाडी भनेका छन्, ‘यस बीचमा सुशान्तलाई हामिबाट बिल्कुलै टाढा बनाइयो । डिसेम्बरमा सुशान्तको पुरानो नम्बर बन्द गराइयो । ताकि सुशान्त आफ्नो परिवारको सम्पर्कमा नआओस भनेर ।’

रियाले आफ्नो साथी स्यामियल मिरण्डाको परिचय पत्रबाट सुशान्तको लागि नयाँ नम्बर झिकिदिइन । त्यहि नम्बरमा कहिले काहिँ कुरा हुन्थ्यो । र, सुशान्तले भन्थ्ये, ‘यिनीहरु मलाई पागलखाना पुर्याउन चाहन्छन तर मैले केहि गर्न सकिरहेको छैन ।’

यसको उप्रान्त सुशान्त मेरो छोरीहरुलाई भेट्न दिल्ली र हरियाणा आएको थियो । उ आएको केहि दिनमै रियाले पटक-पटक फोन गरेर उसलाई  छिट्टै फर्कन दवाव दिइरहेकी थिइ । सुशान्त मुम्बई फर्कियो । त्यसपछि सुशान्तसँग मेरो सम्पर्क झन कम हुँदै गयो ।

बैंक ब्यालेन्स सबै रियाको कब्जामा भएपछि सुशान्त सिनेमा लाइन छोडेर कुर्ग, केरलमा अर्ग्यानिक खेति गर्न चाहन्थ्यो । उसको साथि महेश कुर्ग जानलाई तयार थियो । तर रियाले यस कुराको विरोध गर्दै धम्कि दिइन, ‘तिमि कहिँ जाने छैनौँ । यदि मेरो कुरा मानेनौँ भने म मिडियामा तिम्रो सबै मेडिकल रिपोर्ट सार्वजनिक गरिदिन्छु । र, सबैलाई भनिदिन्छु कि तिमि पागल भैसक्यौँ ।’

सुशान्तले रियाको धम्कि नमानेपछि रियालाई लाग्यो, ‘अब यो सँग बैंक ब्यालेन्स पनि छैन । योसँग बसेर के गर्नु । अब यो मेरो कामको छैन ।’

सुशान्तसँगै बसिरहेकी रिया सुशान्तका सम्पूर्ण सामानहरु रुपैयाँ, जेब्रा, ल्यापटप, पासपोर्ट, क्रेडिड कार्ड, जसको पिन नम्बर, सुशान्तका आवश्यक कागजात, उपचारको रिपोर्टसमेत बोकेर ८ जुन २०२० मा घर छोडेर निक्लिइन ।

यस बीचमा सुशान्तले मेरी छोरीलाई कल गरेर सबै कुरा बतायो। ‘रियाले मलाई कहिँ फँसाउन सक्छे । उ यहाँबाट थुप्रै सामान लिएर गएकी छ । र मलाई धम्कि दिएकि छ कि ‘यदि तैले मेरो कुरा मानिनस भने तेरो सबै मेडिकल रिपोर्ट मिडियामा छताछुल्ल पारिदिन्छु । र भनिदिन्छु ‘तँ पागल भैसकिस । त्यसपछि तलाई कसैले काम दिनेछैन । अनि त बर्बाद हुनेछस ।’

त्यसपछि ९ जुन २०२० मा दिशा नामकी सेक्रेटरी आत्महत्या गर्छिन । जसको कारण मिडियामा अनेकथरि कुरा आउन थाले । यो कुराले मेरो छोरा सुशान्त आत्तिएको थियो । यस बारेमा बुझ्न सुशान्तले रियालाई सम्पर्क गर्ने कोशिस पनि गरेको थियो । तर, उसले सुशान्तको नम्बर ब्लक गरेकी थिइ ।’ केके सिंह दिशाको आत्महत्याको कारण पनि रियालाई नै मान्छन ।

सुशान्तलाई यो कुराको डर थियो, कतै रियाले यो आत्महत्यामा आफुलाई फँसाउने त होइन ? सुशान्तको तनावलाई कम गर्न मेरी छोरी उसको फ्ल्याटमा २-३ दिनसम्म बसेकी थिइ । घरमा बालबच्चा भएका कारण उसले सुशान्तलाई सम्झाई-बुझाइ गरेर घर फर्कीइ । त्यसको केहि दिनपछि १४ जुनका दिन मेरो छोराले आत्महत्या गर्यो ।

रिया, उसको परिवार र साथीहरु मिलेर षडयन्त्र पुर्वक सुशान्तलाई फसाएर उनको पैसा हडपेर आत्महत्याको लागि बाध्य बनाउने केके सिंहको आरोप छ ।

उजुरीमा केके सिंहले सुशान्तको आत्महत्यालाई लिएर ७ प्रश्नको छानविन हुनुपर्ने पनि माग गरेका छन् ।

१) साल २०१९ सम्म मेरो छोरालाई कुनै दिमागी समस्या थिएन । रिया आएपछि आखिर त्यस्तो के भयो ?

२) यदि उ दिमागको बिमारीसँग लडीरहेको थियो भने उसले यो सबै कुरा परिवारलाई किन बताएन ?

३) यस दौरान सुशान्तलाई रियाले कुन-कुन डाक्टरसँग उपचार गराइन ? के ति डाक्टरहरु पनि रियाको षडयन्त्रको मुताबिक थिए ? तिनीहरुले सुशान्तलाई कुन-कुन औषधि खुवाएका थिए ?

४) यदि सुशान्तको दिमागी हालत ठिक थिएन भने रियाले उसको पुरा उपचार किन गरिनन् । उनको सम्पूर्ण मेडिकल रिपोर्ट लिएर जानु, सबैसँगको सम्पर्क तोड्नु र यस्तो हालतमा पनि उसलाई एक्लै छोडेर जानुलाई के भन्ने ?

५) मेरो छोराको बैंक अकाउन्टमा १७ करोड रुपैयाँ थियो । एक वर्षको बीचमा त्यहाँबाट १५ करोड रुपैयाँ अन्य अकाउन्टमा ट्रान्सफर गरिएको छ । जुन अकाउन्टसँग मेरो छोराको कुनै सरोकार छैन । त्यो पैसा कहाँ र कसले लियो ?

६) यो भन्दा पहिलो सुशान्तको हातमा सिनेमाको कमि थिएन । तर रियाको आएपछि उसको हात खाली भयो । यसको कारण के हो ?

७) कुर्गमा अर्ग्यानिक खेति गर्न जान नदिनु, आफ्नो कुरा नमाने मिडियामा सुशान्त पागल हो भनेर इज्जत नंग्याउने जस्ता धम्कि किन दिइएको हो ? यस विषयमा पनि छानविन हुनुपर्नेछ ।

केके सिंहले मुम्बई पुलिसले यसअघि ४० जनालाई लिएर गरेको सोधपुछले मुख्य आरोपी पत्ता नलाग्ने भन्दै पटनामा उजुरी दिएको पनि बताएका छन् । आइपिसीको धारा ३४१, ३४२, ३८०, ४०६, ४२० र ३०६ अन्तर्गत उनले यो उजुरी दिएका हुन् ।

पटनाका एसएसपी उपेन्द्र शर्माको आदेशमा राजीवनगर चौकीबाट चार सदस्यीय टिमलाई अनुसन्धानको लागि मुम्बई पठाइएको छ । यी टिमले मुम्बई प्रहरीसँग साझेदारी गरेर ‘केस स्टडी’ गर्नेछ । टिममा दुई इन्स्पेक्टर र दुई सब-इन्स्पेक्टर रहेका छन् ।