anmol jasita

महँगो पारिश्रमिक लिने १० भारतीय निर्देशकहरु

महँगो पारिश्रमिक लिने १० भारतीय निर्देशकहरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कलाकारहरुले लिने पारिश्रमिकका विषयमा दर्शकलाई जति धेरै चासो हुन्छ, सायद निर्देशकको हकमा नहोला । तर, के तपाईलाई थाहा छ ? संसारका थुप्रै सिनेमा उद्योगमा कलाकार भन्दा पनि बढी पारिश्रमिक लिने निर्देशकहरु छन् ।

आज हामि सर्वाधिक पारिश्रमिक लिने १० भारतीय निर्देशकहरुको बारेमा जान्नेछौँ । जसको पारिश्रमिक कलाकारहरुको भन्दा पनि बढी छ ।

एसएस राजमौली

तेलुगु सिनेमाका सर्वाधिक सफल निर्देशक एसएस राजमौली सर्वाधिक पारिश्रमिक लिने निर्देशकमा पर्छन । उनले ‘बाहुबली’ सिरिजका लागि सय करोड पारिश्रमिक बुझेका थिए । बलिउडमा एक सिनेमा गरे बापत यति धेरै पारिश्रमिक लिने कलाकार कमै मात्र छन् । उनले आफ्नो आगामी सिनेमा ‘आर.आर.आर.’मा पनि महँगो पारिश्रमिक लिएको चर्चा छ ।

रोहित सेट्टी

बलिउड निर्देशक रोहित सेट्टी पनि निकै मंहगा र सफल निर्देशकको रुपमा चिनिन्छन् । रोहित निर्देशित सिनेमा ‘सूर्यवंशी’ प्रदर्शनको तयारीमा छ । यो सिनेमा निर्देशन गरे बापत रोहितले २५ करोड पारिश्रमिक बुझेको चर्चा छ । रोहितका ‘गोलमाल सिरिज’, ‘सिघंम सिरिज’, ‘चेन्नई एक्सप्रेस’ जस्ता सिनेमा सर्वाधिक सफल छ । उनलाई बलिउडका ‘हिट मेसिन’ पनि भन्ने गरिन्छ ।

एस शंकर

‘रोबर्ट’बाट बलिउड सिनेमा निर्देशनमा पाइला चालेका निर्देशक हुन् एस शंकर । रजनीकान्त र ऐश्वर्या राय बच्चन स्टारर सिनेमामा उनले भारी पारिश्रमिक बुझेको चर्चा छ । उनले  पारिश्रमिक स्वरुप १५ करोड बुझेका थिए । शंकर निर्देशित पछिल्लो सिनेमा ‘२.०’ गतवर्ष रिलिज भएको थियो । सिनेमामा रजनीकान्त र अक्षय कुमारको अभिनय छ ।

ए.आर मुरुगादोस

आमिर खान अभिनित ‘गजनी’बाट बलिउडमा निर्देशन यात्रा सुरु गरेका ए.आर मुरुगादोसले पहिलो सिनेमाबाटै महँगो पारिश्रमिक बुझेका थिए । ‘गजनी’मा काम गरे बापत उनले १२ करोड पारिश्रमिक लिएको चर्चा थियो । ‘गजनी’ पश्चात उनले थुप्रै बलिउड र दक्षिण भारतीय सिनेमा निर्माण तथा निर्देशन गरिसकेका छन् ।

राजकुमार हिरानी

‘मुन्ना भाई एमबिबिएस’बाट निर्देशन यात्रा सुरु गरेका राजुकमार हिरानी पनि भारतका महँगा निर्देशकको सुचीमा पर्न आउछन । उनले आफ्नो पछिल्लो ब्लकबस्टर सिनेमा ‘सन्जु’ मार्फत १० करोड पारिश्रमिक बुझेका थिए ।

उनका सिनेमा बक्सअफिसमा मात्र नभएर समिक्षात्मक रुपमा पनि सफल मानिन्छन । ‘लगे रहो मुन्ना भाई’, ‘थ्री इडियट्स’, ‘पिके’ जस्ता सिनेमा दर्शकले अत्याधिक रुचाएका थिए ।

करण जोहर

बलिउडमा रोमान्टिक सिनेमा निर्देशनमा ख्याति कमाएका निर्देशक करण जोहर प्रत्येक सिनेमा बापत १० करोड पारिश्रमिक लिन्छन । स्टार किडहरुका प्रिय जोहरलाई पछिल्लो समय ‘नेपोटिज्म’ आरोपले तनाव दिइरहेको छ ।

मणिरत्नम

दक्षिण भारतीय सिनेमाका सफल निर्देशक हुन् मणिरत्नम । उनले दक्षिण भारतीयसँगै बलिउडमा पनि थुप्रै सिनेमा निर्माण तथा निर्देशन गरेका छन् । उनले एक सिनेमा गरे बापत ९ करोडसम्म पारिश्रमिक बुझ्ने गरेका छन् ।

कबिर खान

‘बजरंगी भाइजान’ जस्तो सुपरहिट सिनेमाका निर्देशक कबिर खान पनि बलिउडका महँगा निर्देशक मध्येका एक हुन् । कबिरको निर्देशनमा निर्माण भएको सिनेमा ‘८३’ प्रदर्शनको तयारीमा छ । उक्त सिनेमामा उनले ८ करोड पारिश्रमिक लिएका छन् । उक्त सिनेमामा रणवीर सिंह र दीपिका पादुकोणको अभिनय छ ।

अनुराग कश्यप

बलिउडमा फरक तथा मौलिक सिनेमा बनाउने निर्देशकको रुपमा चिनिन्छन् अनुराग कश्यप । उनि निर्देशित सिनेमा ‘लुडो’ प्रदर्शनको तयारीमा छ । यो सिनेमाबाट उनले ८ करोड पारिश्रमिक बुझेका थिए । अभिषेक बच्चन, आदित्य रोय कपूर, राजकुमार राव, फातिमा सना शेख जस्ता कलाकारले अभिनय गरेको सिनेमा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

अली अब्बास जफर

‘टाइगर जिन्दा है’ र ‘भारत’ फेम्ड निर्देशक अलि अब्बास जफर अहिले लेडी सुपरहिरो सिनेमा निर्माण तथा निर्देशनको तयारीमा छन् । सिनेमाको मुख्य भुमिकामा अभिनेत्री कट्रिना कैफलाई अनुबन्धित गरिसकेका छन् । अलिले उक्त सिनेमाबाट ७ करोड पारिश्रमिक बुझेका छन् । अलि अब्बासले निर्माण गरेको सिनेमा ‘खाली पिली’ प्रदर्शनको तयारीमा छ । सिनेमामा इशान खट्टर र अनन्या पाण्डेको मुख्य भुमिका निर्वाह गरेका छन् ।