१५ अक्टुबरदेखि भारतमा यसरी खुल्नेछन् सिनेमा हल 

१५ अक्टुबरदेखि भारतमा यसरी खुल्नेछन् सिनेमा हल 

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अक्टुबर १५ देखि भारतमा अनलक-५ सुरु हुँदैछ । कोरोना संक्रमण बढ्न थालेपछि गत मार्चमा केन्द्रिय सरकारले लकडाउन घोषणा गरेको थियो ।

लकडाउनका कारण अर्थतन्त्रमा धक्का पुगेपछि सरकारले बिस्तारै बिभिन्न क्षेत्र खुल्ला गरेको थियो । तर, सिनेमा हल भने अनलक-५ मा मात्र खुल्ने घोषणा भयो । अब अक्टुबर १५ देखि भारतमा हलहरु खुल्नेछन् ।

वर्तमान समयमा दैनिक रुपमा सर्वाधिक संक्रमित भारतमा पुष्टि हुँदै आएका छन् । यस्तोमा मानिसको ठुलो भिड लाग्ने सिनेमा हलमा खोल्दा सावधानी अपनाउन जरुरी छ ।

त्यसो भए भारतीय सिनेमा हलको लागि सरकारले कस्तो गाइडलाइन जारी गरेको छ त ?

हलमा पहिलो जस्तो शतप्रतिशत अकुपेन्सीमा दर्शक राख्न पाइने छैन । सरकारले एक सिटको अन्तरमा जम्मा ५० प्रतिशत मात्र दर्शक राख्न पाउने जानकारी गराएको छ ।

यस्तै टिकट काउन्टर बाहिर ६ फिटको दुरी कायम गर्नुपर्नेछ । हल भित्र बिरामीले प्रवेश पाउने छैनन्। साथै, दर्शकले पकेट स्यानीटाइजर बोक्नु पर्नेछ । अथवा हलको गेटमा राखिएको सुरक्षाका साधन प्रयोग गर्नु पर्नेछ ।

गेटमा हल स्टाफले मेटल डिटेक्टरद्वारा दर्शकको परिक्षण गर्नु पर्नेछ । सिनेमा हेर्दा दर्शकलाई मास्क अनिवार्य गरिएको छ । साथै, सिनेमा चलिरहेका दौरान दर्शकले मास्क खोलेर बस्न पाउने छैनन् ।

हल संचालकले पहिलो शो सुरु हुनु भन्दा पहिला पुरै हल स्यानीटाइज गर्नु पर्नेछ । त्यसपछि दोस्रो शो सुरु गर्दा पनि त्यसरी नै स्यानीटाइज गर्नुपर्नेछ । दिनमा ३-४ शो मात्र सिनेमा चलाउनु पर्नेछ ।

हलमा दर्शकले भिडभाड गर्न पाउने छैनन् । हल भित्र जाँदा र निस्कदा एक-एक जना भएर अगाडी बढ्नु पर्नेछ ।

नेपालमा हल खुल्ने कहिले ?

नेपाली सिनेकर्मीले विगत ८ महिनादेखि ठप्प सिनेमा हल दशैँ अगाडी नै खुल्ने अपेक्षा लिएका छन् । करिब-करिब सबै क्षेत्र सरकारले खुल्ला गरिसकेको छ । तर, हल खुल्ने टुंगो छैन ।

निर्देशक शोभित बस्नेतले आफ्नो निर्माणमा बनेको सिनेमा ‘लक्ष्मीपुजा’ फूलपातीमा रिलिज गर्दैछन् । विशेषत दशैँ अगाडी नै हल खुलेको अवस्थामा ‘लक्ष्मीपुजा’ रिलिज हुने पहिलो सिनेमा बन्न सक्छ । होइन भने निर्माण पक्षले यो सिनेमा डिसहोम मार्फत रिलिज गर्नेछ ।

यदि दशैँ अगाडी नै हल खुलेको खण्डमा नेपाली हल संचालक र सिनेकर्मीलाई ठुलो राहत हुने थियो । किनकि, दशैँ नेपाली बक्सअफिसको लागि उत्तम सिजन मानिन्छ ।